काठमाडौं। पाँच तारे ‘द एभरेष्ट होटल’ एक वर्षभित्र फुल फ्लेजमा सञ्चालनमा आउने भएको छ। भूकम्पका कारण क्षति पुगेको होटल तीन वर्षयता आंशिकरुपमा सञ्चालनमा रहेकामा एक वर्षभित्र क्यासिनोसहित फुल फ्लेजमा चल्ने भएको हो।
फुल फ्लेजमा चलाउनका लागि होटलले अहिले रुम रेनोभेसन गर्ने काम गरिरहेको सञ्चालक सारिक लारीले जानकारी दिए। उनका अनुसार रुम रेनोभेसनमा मात्र ४० करोड रुपैयाँ खर्च गरिंदैछ।
पछिल्लो समय होटल उद्योगमा प्रतिस्पर्धा बढेकाले एभरेष्टका सञ्चालकले रेनोभेसनमा लगानी गरेका हुन्।
‘अहिले कुल १६० कोठामध्ये ८० कोठा रेनोभेसनको चरणमा छन्। रेनोभेसन सकिएपछि होटल पूर्ण क्षमतामा सञ्चालन हुनेछ,’ लारीले बिजमाण्डूसँग भने, ‘आउँदो वैशाखबाट १६० कोठासहित नै सञ्चालनमा ल्याउनेछौं।’
होटल क्यासिनो आगामी असोजबाट पुन: सञ्चालन गर्ने तयारीमा छ। त्यसका लागि उसले विभिन्न कम्पनीसँग छलफल गरिरहेको छ। ‘असोजसम्म हामी क्यासिनो पनि सञ्चालनमा ल्याउने तयारीमा छौं। अहिले विभिन्न क्यासिनो सेवा प्रदायक कम्पनीसँग छलफल भइरहेको छ,’ लारीले भने।
क्यासिनो होटल पछाडि पट्टीकै भवनमा सञ्चालनमा ल्याउने तयारी छ। क्यासिनो सेवा प्रदायक कम्पनी छनोट भएपछि उसलाई नै डिजाइन गर्न लगाएर सञ्चालनमा ल्याउने लारीले बताए।
आंशिकरुपमा सञ्चालनमा रहेको एभरेष्टमा यतिखेर वेडिङ र कर्पोरेट इभेन्टको माग बढी छ।
मुलुककै पहिलो पुस्ताका सीमित पाँचतारे होटलमध्येको एभरेष्टमा २०७२ वैशाखको भूकम्पका कारण क्षति पुगेको थियो। भवनमै क्षति पुगेका कारण रेट्रोफिटिङ गरेर बाह्य संरचना पूर्णरुपमा परिवर्तन गरिएको छ।
होटलको ‘इन्ट्रास’देखि ‘टेरेस’, लबी, रेस्टुरेन्ट, कन्फरेन्स हल, रुम लगायत सम्पूर्ण स्पेसको इन्टेरियर १८० डिग्रीमा फेरिएको छ।
इन्ट्रास गेट, स्विमिङ पुल, पार्किङ एरिया, लबी, लाउन्ज लगायत संरचना नयाँ बनाइएको छ। अल डे डाइनिङका लागि रेस्टुरेन्टका सुविधा थप गरिएको छ। ‘साइड वाक’ नाममा केक तथा पेस्ट्रिज सप पनि थपिएको छ।
तीनवटा प्रिमियम मिटिङ हल तयार पारिएको छ। मुख्य कन्फरेन्स हललाई अझ ‘वार्म एम्बिएन्स’ महसुस हुने गरी सजाइएको छ।
होटलमा रहेको ‘द क्याफे’ रेष्टुरेन्टले सातामा सातै दिन चौबिसै घन्टा संसारका विभिन्न परिकारको स्वाद पस्किँदै आएको छ। मदिराप्रेमीका लागि होटलले बग्लस एन्ड टाइगर्स बारले पनि विविध किसिमका प्रिमियम लिकर्स सर्भ गर्दै आएको छ।
एभरेष्टको सातौं तलामा रहेको ‘फार पेभेलियन’ आफैंमा चर्चित छ। अफिसियल/अनअफिसियल हाइ प्रोफाइल राजनीतिक बैठक हुने गरेको पेभेलियनलाई अहिले आउटडोर टेरेस स्पेससहित नयाँ स्वरुपमा संचालनमा ल्याइएको छ।
होटलले १५ सय जना क्षमताको कभर्ड फ्रि फङ्सन एरिया पनि संचालनमा ल्याएको छ। सभा समारोह आयोजनाका लागि होटलले बैंक्वेट हल पनि विस्तार गरिसकेको छ।