काठमाडौं। कर्णाली याक्स काठमाडौं गुर्खाजसँग पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौंले कर्णालीलाई ३ विकेटले हराएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर कर्णालीलाई सुरुवाती ब्याटिङको निम्ता दिएको थियो। पहिलो ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनायो।
जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। १५० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंको सुरुवात भने राम्रो हुन सकेको थिएन।
ओपनर शंकर राना ६ रनमा रनआउट गराउँदै कर्णालीले पहिलो सफलता हात पारेको थियो। अर्का ओपनर माइकल लेभिटले १९ बलमा २२ रन बनाए पनि अर्को एण्डबाट विकेट जाने क्रम जारी नै रह्यो।
काठमाडौंका स्टेफेन इस्कान्जीलाई ३ रनमा नन्दन यादवले बोल्ड आउट गर्दै कर्णालीलाई दोस्रो सफलता दिलाए। त्यस्तै ६.५ ओभरमा तेस्रो विकेटका रुपमा माइकल लेभिट विपिन शर्माको बलमा नन्दन यादवबाट क्याचआउट भए।
चौथो ब्याटर भीम सार्कीको ब्याट आज पनि चल्न सकेन। उनी ९ रन बनाएर जिसन मक्सुदको बलमा शिखर धवनबाट क्याचआउट भए।
काठमाडौंका लागि नामिबियन कप्तान इरास्मसले २८ बलमा ३८ रन बनाउने क्रममा सोमपाल कामीले १५ ओभरको क्याच ड्रप कर्णालीका लागि घातक बन्यो। यद्यपि उनी १५.५ ओभरमा गुल्सन झाको बलमा सोमपालबाटै क्याचआउट भए।
इरास्मस पछि एउटा एण्डबाट सुमित महर्जनले संयमित ब्याटिङ गर्दा अर्को एण्डबाट कप्तान करण केसीले विस्फोटक ब्याटिङ गरे। यी दुईले ४५ रनको साझेदारी गरे।
१९ औँ ओभरको अन्तिम बलमा करण केसीलाई सोमपाल कामीको बलमा देव खनालले बाउन्ड्री लाइनमा सानदार क्याच गर्दै पेभेलियन फर्काए। तर, यतिबेलासम्म खेलमा फर्कन कर्णालीलाई ढिला भइसकेको थियो। केसीले १० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २८ रन बनाए।
अर्कोतर्फ महर्जनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाएर अविजित रहे।
बलिङतर्फ कर्णालीका सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन शर्माले समान १ विकेट लिए।
कर्णालीको इनिङ्स
टस हारेर ब्याटिङमा उत्रिएको कर्णाली याक्सको सुरुवात राम्रो हुन सकेन। तेस्रो बलमै ओपनर देव खनाल करण केसीको बलमा एलबीडब्लुमा पर्दै डकआउट हुन पुगे।
अर्का ओपनर शिखर धवनले संयमित ब्याटिङसँगै इनिङ्स अघि बढाउँदै अविजित ७२ रन बनाए। यसक्रममा उनले बाँकी सबै खेलाडीसँग क्रिजमा रहँदै ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।
यसक्रममा दोस्रो विकेट कर्णालीले ३.५ ओभरमा गुमायो। १५ बलमा ५ चौकाको सहायतामा ३१ रन बनाएका चाडविक वाल्टन २१ रन बनाउँदै गेर्राड इरास्मसको बलमा करण केसीबाट क्याचआउट भए।
लगत्तै आएका बाबर हायत १३ रन बनाएर दीपेश कँडेलको बलमा बोल्डआउट भए। युवा अलराउण्डर गुल्सन झाले पनि ठूलो योगफल बनाउन सकेनन्। उनी १३.५ ओभरमा १२ रन बनाउँदै इरास्मसबाटै आउट भए।
अघिल्लो खेलमा प्रभाशाली प्रदर्शन गरेका अर्जुन घर्ती ४ रन बनाएर नाथन सोटेरको बलमा बोल्ड हुन पुगे।
धवनसँगको साझेदारीलाई बलियो बनाउने काम ओमनी पूर्वकप्तानसमेत रहेका जिसन मक्सुदले गरे। १४.३ ओभरमा ८४-३ को अवस्थामा आएका उनले धवनसँग ६५ रनको साझेदारी गरे। मक्सुद ११ बलमा १४ रन बनाउँदै अविजित रहे।
बलिङतर्फ गेर्राड इरास्मसले २ विकेट लिँदा करण केसी, दीपेश कँडेल र नाथन सोउटरले समान १ विकेट लिए।
अघिल्लो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको कर्णालीको यो लगातार दोस्रो हार हो भने पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको काठमाडौंको यो पहिलो जित हो।
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।