काठमाडौं। चालु आर्थिक वर्ष चौथो महिनामा वाणिज्य बैंकहरुको व्यवसाय २ अर्ब ५ करोड रुपैयाँले खुम्चिएको छ। सञ्चालनमा रहेका २० मध्ये १४ बैंकले व्यवसाय बढाउँदा ६ बैंकको खुम्चिएको हो।
असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ४६ खर्ब ८१ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेकामा कात्तिक मसान्तमा आइपुग्दा व्यवसाय ४६ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ। ब्याजदर निरन्तर घट्दै आइरहे पनि आर्थिक गतिविधि सुस्त भएकाले माग बढ्न नसक्दा कात्तिकमा वाणिज्य बैंकहरुको कर्जा खुम्चिएको हो।
कसको कर्जा कति घट्यो?
कात्तिकमा सबैभन्दा धेरै कर्जा खुम्चिनेमा एनआईसी एसिया बैंक छ। यो बैंकको लगानी एक महिनामै ९ अर्ब ६२ करोड रुपैयाँ खुम्चिएको छ।
असोज मसान्तसम्म २ खर्ब ७१ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको एनआईसी एसियाको व्यवसायको आकार कात्तिक मसान्तमा आइपुग्दा २ खर्ब ६१ अर्ब ६ लाखमा झरेको छ। कात्तिकमा एनआईसी एसियाको निक्षेप पनि घटेको छ।
एनआईसी एसिया बैंकका डेपुटी सीइओ अर्जुन खनियाले कर्जाको माग बढ्न नसकेका कारण व्यवसाय खस्किएको बताए। उनका अनुसार कर्जाको माग नबढेपछि बैंकले निक्षेपलाई निरुत्साहित गर्ने रणनीति लिएको छ। त्यही कारण उसको निक्षेप पनि घटेको हो।
‘कर्जाको माग बढ्न सकेको छैन। उत्पादन क्षेत्रमा जाने, रि पेमेन्ट ग्यारेन्टी भएको, रि पेमेन्टमा समस्या नभएको, सबै हिसाबले कर्जा दिन उपयुक्त भएका परियोजना र संस्थाबाट कर्जाको माग नआएकाले त्यसको असर व्यवसायमा परेको हो,’ खनियाले भने, ‘कर्जा घटेपछि हामीले लागत कम गर्न निक्षेपलाई निरुत्साहित गर्ने रणनीति लिएका छौं। जसले गर्दा कात्तिकमा निक्षेप पनि घट्न पुगेको हो।’
स्टान्डर्ड चार्टर्ड बैंकको कर्जा २ अर्ब ७४ करोडले खुम्चिएको छ। प्रभु बैंकको १ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकको कर्जा १ अर्ब ५० करोड, कृषि विकास बैंकको १ अर्ब १४ करोड र नेपाल एसबिआई बैंकको १ अर्ब ६ करोडले कर्जा खुम्चिएको छ।
व्यवसाय बढाउने बैंक कुन कुन?
कात्तिकमा एनएमबि बैंकले सबैभन्दा धेरै २ अर्ब २७ करोड रुपैयाँ लगानी विस्तार गरेको छ।
एनएमबिले असोज मसान्तसम्म २ खर्ब १६ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेकामा कात्तिक मसान्तमा आइपुग्दा २ खर्ब १८ अर्ब ७० करोड पुगेको छ।
यस्तै ग्लोबल आइएमई बैंकले २ अर्ब १३ करोड रुपैयाँले कर्जा बढाएको छ। ग्लोबल आइएमईले असोज मसान्तमा ४ खर्ब ८८ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेकामा कात्तिक मसान्तसम्म आइपुग्दा उसको व्यवसायको आकार ४ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
सानिमाले १ अर्ब ७४ करोड, नेपाल बैंकले १ अर्ब ७५ करोड, सिद्धार्थले १ अर्ब २४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब १२ करोड, प्राइम कमर्सियलले १ अर्ब ४ करोड, हिमालयनले ९१ करोड, एभरेष्टले ९५ करोड, माछापुच्छ्रेले ८३ करोड, नबिलले ७६ करोड, लक्ष्मी सनराइजले ५७ करोड, कुमारीले ३५ करोड र सिटिजन्सले १४ करोड रुपैयाँले व्यवसाय बढाएका छन्।
११ बैंकको निक्षेप खुम्चियो
कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १८ अर्ब ५५ करोड रुपैयाँले खुम्चिएको छ। असोज मसान्तमा ५९ खर्ब २२ अर्ब रहेको निक्षेप कात्तिक मसान्तमा आइपुग्दा ५९ खर्ब ३ अर्बमा झरेको छ।
निक्षेप एनआईसी एसियाको २५ अर्ब ७४ करोड, हिमालयन बैंकको १३ अर्ब ४३ करोड, एनएमबिको ७ अर्ब ३९ करोड, प्रभुको ५ अर्ब १ करोड, ग्लोबल आइएमईको ३ अर्ब १ करोड र नबिलको २ अर्ब ८६ करोड रुपैयाँले घटेको छ।
कात्तिकमा ११ वटा वाणिज्य बैंकहरुको निक्षेप संकलन घट्दा ९ बैंकले भने बढाएका छन। निक्षेप संकलनमा स्टान्डर्ड चार्टर्ड बैंक एग्रेसिभ देखिएको छ। यो बैंकले कात्तिकमा १२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप बढाएको छ।
राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब ८८ करोड, एभरेष्ट बैंकले ५ अर्ब १७ करोड, नेपाल एसबिआई बैंकले ४ अर्ब ९६ करोड, नेपाल बैंकले ३ अर्ब ९७ करोड र सानिमा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ निक्षेप बढाएका छन्।
कर्जा लगानी बढाउन नसक्दा निक्षेप निरुत्साहित गर्ने रणनीति लिएकाले कात्तिकमा असर देखिएको बैंकरहरुको भनाइ छ। उनीहरु कर्जा असुली प्रभावित भइ खराब कर्जा बढ्दो अवस्थामा रहेकाले लागत कम गर्न निक्षेप निरुत्साहनको रणनीति लिएको बताउँछन्।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले निक्षेपको ब्याजदर धेरै तल आइसकेको हुँदा बैंकमा पैसा राख्ने क्रम कम हुन थालेको बताए।
‘ब्याजदर घट्दै आइरहे पनि कर्जाको माग सुस्त छ। यस्तो अवस्थामा दीर्घकालका लागि सस्तो दरमा निक्षेप उठाउँदा लगानीको योजना बनाउन सहयोग पुग्छ। तर पैसा उठाएर मात्र के गर्नु? लगानी विस्तार गर्ने अवस्थामा निक्षेप लिँदा लागत मात्र बढ्ने हो,’ उनले भने।