![हिउँदे बालीको लागि रासायनिक मलको अभाव नहुने दाबी, ‘कोटा प्रणालीले गर्दा वितरणमा समस्या’ हिउँदे बालीको लागि रासायनिक मलको अभाव नहुने दाबी, ‘कोटा प्रणालीले गर्दा वितरणमा समस्या’](https://bizmandu.com/wp-content/uploads/2024/12/DSC_8307-2-1.jpg)
काठमाडौं । कतिपय जिल्लाका किसानले मल नपाएको गुनासो गरिरहँदा सरकारी कम्पनीले भने पर्याप्त स्टक रहेको दाबी गरेको छ।
कृषि सामग्री कम्पनीका प्रबन्धक संचालक विष्णु पोखरेलले हिउँदे बालीका लागि रासायनिक मल पर्याप्त रहेको बताएका हुन्।
‘हामीसँग मलको स्टक पर्याप्त छ। किसानले अभाव झेल्नुपर्ने अवस्था छैन,’ पोखरेलले भने।
गहुँ, आलु, तोरी लगायत हिउँदे बालीका लागि करिब ६० हजार डीएपी मल चाहिनेमा कम्पनीमा हाल १७ हजार ८०० टन स्टक रहेको उनले बताए। कम्पनीका लागि ५० हजार डीएपी विदेशबाट ल्याउने क्रममा छ।
‘५० हजार मेट्रिक टन सिपमेन्ट भइरहेको छ। किसानलाई चाहिने बेलासम्म आइसक्छ,’ उनले भने।
पोखरेलका अनुसार २५ हजार डीएपी र २५ हजार टन युरिया मलका लागि एलसी खोल्न लागिएको छ। कम्पनीमा हाल डीएपीबाहेक ५९ हजार युरिया र ४३३० मेट्रिक टन पोटास स्टक छ।
कोटा प्रणालीले समस्या
कम्पनीका अनुसार दैनिक १ हजार ५०० देखि २ हजार टन मल बिक्री हुने गरेको छ। पोखरेल कोटा प्रणालीका कारण मल वितरणमा समस्या भएको बताउँछन्।
अहिले कोटा अनुसार सबै प्रदेशमा सहकारीबाट मल वितरण हुने गरेको छ। कोटाको कारण केही प्रदेशमा माग अनुसारको मल वितरण हुन नसकेको पोखरेल स्वीकार्छन्।
कोटाकै कारण केही जिल्लाका किसानले माग भन्दा कम मल पाइरहेका छन्। केही किसानकोमा भने माग भन्दा बढी मल पुगेको छ।
‘त्यसैले केही प्रदेशमा किसानले मल नपाएको गुनासो गरेका छन्,’ उनले भने। कम्पनीले यो क्रमलाई रोक्न भने सकेको छैन।
कृषि मन्त्रालयमा मल वितरण कार्यविधि संसोधन गर्न छलफल चलिरहेको छ। मन्त्रिपरिषद्बाट संशोधन कार्यविधि नभएसम्म सबै स्थानीय तहमा माग अनुसारको मल वितरण नहुने कम्पनीले जनाएको छ।