होटललाई उद्योगको मान्यता दिन हानको माग, पर्यटन सचिवले व्यवसायीलाई दिए यस्तो सुझाव

बिजमाण्डू
२०८१ मंसिर १८ गते १५:५२ | Dec 3, 2024
होटललाई उद्योगको मान्यता दिन हानको माग, पर्यटन सचिवले व्यवसायीलाई दिए यस्तो सुझाव

काठमाडौं। होटल संघ नेपाल (हान)ले होटललाई राष्ट्रिय प्राथमिकतामा राखि र समान व्यवहार गर्न सरकारसँग माग गरेको छ।

Tata
GBIME
NLIC

हानले पर्यटन विभागसँग मिलेर कार्यशाला गोष्ठी गरी होटल व्यवसायलाई उद्योगको मान्यता दिन, कानुनी जटिलता हटाउन तथा विमानस्थल र सडक सञ्जाल चुस्त दुरुस्त बनाउन माग गरेको हो।

होटल व्यवसायीले तारे होटलको मापदण्ड पुनरावलोकन गर्न, इन्धन र विद्युतमा सहुलियत दिन तथा होमस्टे व्यवस्थापनमा सुधार गर्न विभागलाई सुझाव दिएका छन्।

हानका अध्यक्ष विनायक शाहले होटलको संख्याको तुलनामा पर्यटक आगमन निकै कम रहेकाले सरकारले सहुलियत दिनुपर्ने बताए। उनका अनुसार होटलसँग वार्षिक ३५ लाख पर्यटक राख्न सक्ने क्षमता छ।

पर्यटनसचिव डा. गणेशप्रसाद पाण्डेयले होटल थप्नेभन्दा पर्यटक बसाइको अवधि बढाउने प्याकेज ल्याउन र सेवा सुविधा बढाउन व्यवसायीहरुलाई सुझाव दिए।

पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले दीर्घकालीन योजनाभन्दा छोटो अवधि लक्षित योजनामा ध्यान दिनुपर्नेमा जोड दिए।उनले सडक र हवाई कनेक्टिभिटी सुधार गर्न आवश्यक रहेको बताए।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले इ-भिसा र इ-पेमेन्ट प्रणाली तत्काल लागू गर्नुपर्ने आवश्यकता औंल्याए।