कतार एयरवेजको भैरहवा उडान बन्द, क्यानको पत्राचारपछि पनि प्रस्ताव गरेन नयाँ तालिका

बिजमाण्डू
२०८१ मंसिर १८ गते १५:३७ | Dec 3, 2024
कतार एयरवेजको भैरहवा उडान बन्द, क्यानको पत्राचारपछि पनि प्रस्ताव गरेन नयाँ तालिका

काठमाडौं। कतार एयरवेजले भैरहवातर्फको व्यावसायिक उडान बन्द गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निर्देशनमा गत कात्तिक १२ गते भैरहवामा उडान थालेको कतार एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर १६ देखि सेवा बन्द गरेको हो।

Tata
GBIME
NLIC

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले कतार एयरवेजले सुरुमा कात्तिक १२ देखि मंसिर १५ सम्मको तालिका स्वीकृत गरेको र त्यसपछि नयाँ तालिका प्रस्ताव नै नगरेको बताए।

‘कतारले कात्तिक १२ देखि मंसिर १५ गतेसम्मका लागि दोहा-भैरहवा-काठमाडौं उडान गर्ने तालिका स्वीकृत गराएको थियो,’ भूलले भने, ‘हामीले कम्पनीलाई भैरहवामा उडानका लागि फ्लाइट अप्लाइ गर्नु भनेर पत्राचार गरेका छौं। तर, उसले तालिका पे; गरेको छैन।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतार एयरवेजले कात्तिक १२ देखि मंसिर १५ सम्म कुल ३८ वटा उडान र अवतरण गरेको छ। यो अवधिमा दोहा-भैरहवा उडानमार्फत ९३ यात्रु भैरहवामा ओर्लिएको कार्यालयले जनाएको छ।

विमानस्थलका सूचना अधिकरी विनोद राउतले कतार एयरवेजको जहाजमा दोहाबाट आएका यात्रुमध्ये १ हजार २०३ जना काठमाडौंमा अवतरण गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाल फ्लाइ दुबइ, थाइ एयर एसिया, जजरा एयरवेज र नेपाल वायुसेवा निगमले नियमित व्यावसायिक उडान गरिरहेका छन्।