काठमाडौं। धादिङको गल्छीमा २० करोड रुपैयाँ लागतमा त्रिपल क्राउन रिसोर्ट बनाइएको छ। अमलेश्वर आयल स्टोरका सञ्चालक केशव अधिकारीले रिसोर्ट बनाएका हुन्।
आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट बनाएको अधिकारीले बताए। ‘जग्गा बाहेक करिब २० करोड रुपैयाँ लागतमा रिसोर्ट तयार भएको छ। राजमार्गमा होटल रेष्टुरेन्ट चलिरहेका छन्। हामीले अलिक फरक अवधारणामा रिसोर्ट सञ्चालनमा ल्याएका हौं,’ सञ्चालक अधिकारीले भने, ‘हामीले खानपिन बसोबास मात्र नभइ वैवाहिक कार्यक्रम, संस्थागत समारोह आयोजनालाई मध्यनजर गर्दै सुविधा समावेश गरेका छौँ।’
रिसोर्टमा कुल १५ वटा कोठा रहेकामा ती सबै सुइट हुन्। होटलमा स्विमिङ पुल, ५० जना क्षमताको सेमिनार हल, जाभा कफी सप, किण्डर जोन, ८० वटा गाडीका लागि पार्किङ, २०० जना क्षमताको बैंक्विट हल, रुफ टप रेष्टुरेन्ट लगायत सुविधा छन्।
९ रोपनी क्षेत्रफलमा रहेको रिसोर्ट राजमार्गबाट ६५ मिटर दूरीमा छ। रिसोर्ट जनवरी १ मा ग्राण्ड ओपनिङ गर्ने तयारी छ।
रिसोर्टले नजिकै गुप्तेश्वरी गुफा, कालिका मन्दिर लगायत गन्तव्य रहेकाले ती स्थलको प्रवर्धन गर्ने गरी आकर्षक प्याकेज ल्याउने तयारी गरेको छ। हाइकिङ गर्न चाहनेलाई ब्रेकफास्ट सहितको प्याकेज ल्याउने अधिकारीले बताए।
‘यहाँ हाइकिङका लागि आउनुुहुने पर्यटकका लागि पनि हामीले आइटिनरी बनाइरहेका छौं। बिहानको समयमा हाइकीङ गर्नुहुने पर्यटकका लागि यहिंको स्थानीय परिकारको स्वाद पस्किनेछौं,’ उनले भने।
रिसोर्ट १ महिनाभित्र चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारीमा छ। एक पटकमा ४ वटा इभी चार्ज गर्न सकिने गरी चार्जिङ स्टेसन बनाउन लागेको अधिकारीले जानकारी दिए। उनका अनुसार रिसोर्टमा निजी सवारीसाधन लिएर पुग्ने पाहुनाका चालकका लागि छुट्टै शयन कक्ष राखिएको छ।
पछिल्लो समय काठमाडौंबाट विकेण्डका लागि नजिकै रिफ्रेस हुन जाने क्रम बढेकाले रिसोर्ट सञ्चालनमा ल्याएको अधिकारीले बताए। रिसोर्टमा २३ जनाले रोजगारी पाएका छन्। रिसोर्टको व्यवस्थापन अधिकारी आफैंले हेर्दै आएका छन्।