काठमाडौं। अर्थतन्त्रमा कायम शिथिलताले वास्तविक क्षेत्रका कम्पनीको व्यापारमा व्यापक गिरावट आउँदा शिवम् सिमेन्ट नाफामा गएको छ।
नेप्सेमा सूचीकृत चारवटा सिमेन्ट कम्पनीमध्ये चालु आर्थिक वर्ष पहिलो त्रैमासमा तीनवटा घाटामा गएका छन्। शिवम् सिमेन्टले भने १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
अर्थतन्त्रको मेरुदण्ड मानिने उत्पादन तथा प्रशोधन क्षेत्रका ९ वटा कम्पनी सेयर बजारमा सूचीकृत छन्। तीमध्ये शिवम्, घोराही, सोनापुर मिनरल्स एण्ड आयल र सर्वोत्तम सिमेन्ट कम्पनी हुन्।
लगातारको आर्थिक शिथिलताका कारण घट्दो ‘बिजनेस’का बाबजूद् शिवमले पोहोरको तुलनामा वित्तीय अवस्थामा सुधार गरेको छ। पोहोर पहिलो त्रैमासमा ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस वर्ष सोही अवधिमा नाफा आर्जन गरेको हो।
नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीको दुई आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था
कम्पनी | खुद नाफा रु लाखमा २०८१/८२ | खुद नाफा रु लाखमा २०८०/८१ | फरक % | आम्दानी रु लाखमा २०८१/८२ | आम्दानी रु लाखमा २०८०/८१ | फरक % | प्रति सेयर आम्दानी रु | नेटवर्थ रु |
शिवम् सिमेन्ट | १२७ | -५३४ | – | १४०६३ | १६२७५ | -१३.५९१३९८ | १.०२ | १८९.२८ |
घोराही सिमेन्ट | -५१३७ | -१९८८ | १५८.४ | ६६८४ | ८८८८ | -२४.७९७४८ | -११.२५ | १९६.६३ |
सोनापुर मिनरल्स एण्ड आयल | -८५५ | -४६९२ | – | ३४३० | १६३९९ | -७९.०८४०९ | -११.१३ | १६०.४५ |
सर्वोत्तम सिमेन्ट | -२२५ | – | – | १४५५१ | – | – | -१.९४ | १९८.३३ |
गत वर्ष घाटामा रहेका अन्य कम्पनीको भने वित्तीय अवस्था झनै बिग्रिएको छ। सबै कम्पनीको आम्दानी घटेको छ। व्यापारमा केही गिरावट आए पनि शिवमका अन्य सूचक सकारात्मक छन्।
कम्पनीको प्रति सेयर आम्दानी १.०२ रुपैयाँ र प्रति सेयर नेटवर्थ १८९.२८ रुपैयाँ छ। दुई वर्षभन्दा बढी समयदेखि अर्थतन्त्र शिथिल छ। बजारमा माग बढ्न सकेको छैन। निर्माण गतिविधि सुस्त छ। त्यही भएर निर्माण र उत्पादन क्षेत्रको आर्थिक वृद्धि लगातार ऋणात्मक भइरहेको छ।
माग घट्दा कम्पनीको बिजनेसमा ठूलो गिरावट आएको छ। अहिले उद्योगहरु क्षमताको ४० प्रतिशतभन्दा कममा सञ्चालन भइरहेको व्यवसायीहरु बताउँछन्। शिवमले बजारमा शिथिल हुँदा पनि नाफा बढाएको छ।
शिवम् सिमेन्टको वित्तीय अवस्था
आर्थिक वर्ष | नाफा रु लाखमा | आम्दानी रु लाखमा | प्रति सेयर आम्दानी रुपैयाँ | नेटवर्थ रुपैयाँ |
२०८१/८२* | १२७ | १४०६३ | १.०२ | १८९.२८ |
२०८०/८१ | २५०२ | ७७०७४ | ४.९८ | १८९.०२ |
२०७९/८० | ३०२४ | ७७५२७ | ६.८७ | २०६.२३ |
२०७८/७९ | ६८९३ | ९२६०३ | १५.६७ | २०९.८२ |
२०७७/७८ | १३९३७ | ९६१५४ | ३१.६८ | २२२.४८ |
२०७६/७७ | १०५८४ | ९००९० | २४.०६ | २०३.४३ |
२०७५/७६ | १५०३२ | ११३४५१ | ३४.१६ | १९४.६ |
ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको शिवमसँग प्रति दिन ३ हजार टन उत्पादन क्षमता छ। ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको शिवमको रिजर्भमा ३ अर्ब ५३ करोड १८ लाख रुपैयाँ छ। कम्पनीको सेयर प्रिमियम रकम ९५ करोड ६२ लाख रुपैयाँ छ।
शिवमले २०७५ मा प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको थियो। कम्पनीको ५ करोड २ लाख ७० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ।
अहिले प्रति कित्ता ५८३ रुपैयाँमा सेयर कारोबार भइरहेको छ। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ४४६ रुपैयाँमा आएको थियो भने अधिकम ७७९ रुपैयाँसम्म पुगेको थियो।