भैरहवामा वायुसेवा कम्पनीको प्राथमिकतामा कुन होटल? यात्रु र क्रु मेम्बर राख्न भइरहेको छ डिल

वसन्तराज उप्रेती
२०८१ कात्तिक २७ गते २०:५२ | Nov 12, 2024
भैरहवामा वायुसेवा कम्पनीको प्राथमिकतामा कुन होटल?  यात्रु र क्रु मेम्बर राख्न भइरहेको छ डिल

काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न वायुसेवा कम्पनीले उडान सुरु गरेसँगै भैरहवाका तारे होटलमा चहलपहल बढेको छ।

Tata
GBIME
NLIC

वायुसेवा कम्पनीहरुले चालक दलका आफ्ना सदस्यलाई तारे होटलमा राख्न थालिसकेका छन् भने यात्रु राख्नका लागि होटलसँग डिल अगाडि बढाएका छन्।

विमानस्थलमा उडान सुरु गरेका वायुसेवा कम्पनीले टाइगर प्यालेस, सिद्धार्थ भिलासा, पवन प्यालेस, नान्सलगायत विभिन्न चार/पाँच तारे होटलसँग प्रारम्भिक छलफल गरिसकेका छन्।

जजिरा एयरवेजले चालक दलका सदस्य पाँच तारे होटल सिद्धार्थ भिलासामा राख्न सुरु गरेको छ। सिद्धार्थ होटल समूहका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएसँग आशा जागेको बताए।

‘भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि हामीमा ठूलो आशा जागेको छ,’ उनले भने, ‘अहिलेसम्म जजिरा एयरवेजले सिद्धार्थ भिलासामा आफ्ना क्रु मेम्बर राख्न सुरु गरिसकेको छ। अब अरु कम्पनी पनि आउने विश्वास छ। यात्रु राख्नका लागि पनि छलफल चलिरहेको छ।’

वायुसेवा कम्पनीलाई आफ्ना क्रु मेम्बर राख्न स्तरीय होटल चाहिन्छ। उनीहरुले पाँच तारे होटलको सेवा चाहन्छन्। उडान कुनै कारण रोकिएको अवस्थामा वायुसेवा कम्पनीहरुले यात्रुलाई होटलमा व्यवस्थापन गर्नुपर्ने हुन्छ।

जजिरा एयरवेजले जहाज अवतरणपछि क्रु मेम्बरलाई आरामका लागि केहीदिन भैरहवामै राख्नेगरी होटलसँग सहकार्य गरेको न्यौपानेले जानकारी दिए।

भैरहवा विमानस्थलमा ५ वटा वायुसेवा कम्पनीले उडान थालेका छन। जजिरा एयरवेज, थाइ एयर एसिया, फ्लाइ दुबई, नेपाल वायुसेवा निगम र कतार एयरवेजले व्यावसायिक उडान सुरु गरेका हुन्।

पाँच तारे होटल पवन प्यालेसका सञ्चालक पवन हलुवाइले अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै अब होटलको व्यापार बढ्ने बताए। फ्लाइ दुबईले होटलसँग प्रारम्भिक छलफल अगाडि बढाएको छ।

‘अहिले प्रारम्भिक छलफल भएको छ। निश्चित भइसकेको छैन,’ उनले भने, ‘विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै जहाजका क्रु मेम्बर त होटलमा बस्छन् नै, पर्यटक पनि बढ्ने विश्वास छ।’

चालक दलका सदस्य र यात्रु व्यवस्थापनका लागि युनिभर्सल टुर्स एण्ड ट्राभलले पाँच तारे होटल टाइगर प्यालेससँग प्रारम्भिक छलफल गरिसकेको छ। होटलका बिक्री निर्देशक विख्यात विक्रम राणाले छलफल नटुंगिएका कारण सम्झौता हुन बाँकी रहेको बताए। युनिभर्सल टुर्स एण्ड ट्राभल फ्लाइ दुबई र थाइ एयर एसियाको जीएसए हो।

टर्किस एयरलाइन्स र चाइना साउदर्न एयरले पनि टाइगर प्यालेससँग छलफल गरेका छन्। ‘अहिले कुनै पनि वायुसेवासँग सम्झौता भएको छैन। उडान भर्खरै सुरु भएकाले हामीले छलफल हुनुलाई पनि सकारात्मक मानेका छौं,’ राणाले भने, ‘सातामा २४ वटा अन्तर्राष्ट्रिय उडान हुने पक्का भइसकेकाले वायुसेवा कम्पनीले व्यापार बढाइदिनेमा विश्वस्त छौं।’

भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर धेरै होटल यसअघि नै खुलेका छन्। तर, विमानस्थलमा अढाइ वर्षसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा होटल निक्कै अप्ठेरोमा परेका थिए।

टीआईएमा ट्याक्सी-वे विस्तारका कारण उडान कटौतीले वायुसेवा प्रदायक कम्पनी अहिले धमाधम भैरहवा पुगेपछि त्यसले होटल व्यवसायीहरुमा आशाको सञ्चार गरेको हो।

सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठले टीआईएको ट्याक्सी-वे विस्तारपछि पनि भैरहवामा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने वातावरण सरकारले बनाउनुपर्ने बताए।

‘वैदेशिक रोजगारीमा जाने युवाहरुको स्वास्थ्य परीक्षण, अभिमुखीकरण, भिसा सेन्टरलगायत पूर्वाधारको व्यवस्थामा सरकारको ध्यान जानुपर्छ। त्यसो भएमा उडानले निरन्तरता पाउँछ र होटल क्षेत्र फस्टाउँछ,’ उनले भने।