काठमाडौं। कतार एयरवेजले मंगलबारबाट दोहा-भैरहवा उडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कतार एयरवेजलाई मंगलबारबाट उडान गर्ने गरी अनुमति दिने तयारी गरेको छ।
क्यानका एक कर्मचारीका अनुसार कम्पनीले हप्तामा सातै दिन दोहा-भैरहवा-काठमाडौं-दोहा उडानको तयारी गरेको छ।
‘कतार एयरवेजले भैरहवाबाट उडान गर्नका लागि केही दिनअघि प्रस्ताव पेस गरेको थियो। उसले अहिले नोभेम्बरमा गर्ने उडान तालिका प्रस्ताव गरेको छ। हामीले आउँदो मंगलबारबाट उडान गर्ने गरी अनुमति दिन लागेका छौं,’ क्यानका ती कर्मचारीले भने।
यो वायुसेवाले हाल काठमाडौंबाट दैनिक ३ वटा उडान गर्दै आएको छ।
कतार एयरवेज थपिएपछि भैरहवाबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको संख्या ५ पुग्ने छ। भैरहवाबाट कात्तिक १८ गते थाइ एयर एसियाले उडान सुरु गरेकामा शनिबारदेखि जजिरा एयरवेज, फ्लाइ दुबई र नेपाल वायुसेवा निगमले पनि सेवा दिन थालेका छन्।