सीईडीबी हाइड्रोपावरको विशेष साधारण सभा विवादित, सञ्चालक चयनविरुद्ध सेबोनमा उजुरी

सुनिल कुँवर
२०८१ कात्तिक २१ गते १९:३० | Nov 6, 2024
सीईडीबी हाइड्रोपावरको विशेष साधारण सभा विवादित, सञ्चालक चयनविरुद्ध सेबोनमा उजुरी

काठमाडौं। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको विशेष साधारण सभा विवादित भएको छ।

Tata
GBIME
NLIC

अध्यक्ष अनिल कुमार रुङ्गटाले आफू अनुकूलका सञ्चालक छान्ने नियतसहित पर्याप्त समय पनि नदिइ तिहार बिदामा मनोनयनको समय राखेर विशेष साधारण सभा गरेको भन्दै केही सेयरधनीले असन्तुष्टि जनाएका छन्। सञ्चालक चयनप्रति असन्तुष्टि जनाउँदै नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)मा उजुरी परेको छ।

कहिले के भयो?

कम्पनीले कात्तिक ४ गते विशेष साधारण सभा बोलाउने निर्णय गर्‍यो। भोलिपल्ट सार्वजनिक सूचनामा कम्पनीले भन्यो- कात्तिक २० गते बिहान ८ बजे विशेष साधारण सभामार्फत ५ जना सञ्चालकको नियुक्ति गर्ने।

कम्पनी ऐन, २०६३ ले वार्षिक साधारण सभाको जानकारी सेयरधनीलाई कम्तिमा २१ दिनअघि र विशेष साधारण सभाका लागि १५ दिनअघि नै जानकारी गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ।

सीईडीबीले प्रक्रिया पूरा गर्न ५ गते नै विशेष साधारणको सूचना निकाल्यो। सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने सेयरधनीले कम्पनीको अर्को सेयरधनीलाई कम्पनीको आधिकारिक प्रतिनिधि (प्रोक्सी) फारम भरी सभा हुनुभन्दा एक दिन अगावै अर्थात् कात्तिक १९ गते बिहान ११ बजेभित्र यस कम्पनीको कार्यालयमा दर्ता गराई सक्नु पर्ने भनियो।

जबकि कात्तिक १५ देखि १९ गतेसम्म तिहारको सार्वजनिक बिदा थियो। अध्यक्ष रुङ्गटाले निर्वाचन अधिकृत सोमनाथ कंडेललाई कात्तिक १३ गते निर्वाचन कार्यक्रमको सूचना निकाल्न लगाए। सूचना अनुसार मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको काम १५ गते लक्ष्मीपूजाका दिन गरियो।

उम्मेदवारी दर्ताका लागि एक घण्टाको समय दिइएको थियो। रुङ्गटाका साथै रमेशप्रसाद नेपाल, उत्तम भ्लोन, प्रविन महर्जन र आयुषा श्रेष्ठले उम्मेदवारी दर्ता गरे। अरु दुई जना सेयरधनीले पनि उम्मेदवारी दर्ता गरेकामा उनीहरुलाई फिर्ता लिन लगाइयो।

सभामा पेस गर्ने प्रस्तावबारे कुनै राय भए भाइटीकाको दिन अपराह्न २ बजेसम्म लिखितरुपमा उपलब्ध गराउन भनियो।

अध्यक्ष रुङ्गटाले आफूनिकट सञ्चालक ल्याउने प्रपञ्चस्वरुप तिहार बिदाको समयमा उम्मेदवारी दर्तादेखि प्रोक्सी नियुक्तको समय निर्धारण गरेको निष्कर्षमा केही सेयरधनीले कम्पनी रजिष्ट्रारको कार्यालय र सेबोनमा इमेलमार्फत उजुरी दिए।

कम्पनीको विशेष साधारण सभा स्थगित गराउन दिइएको उजुरीमाथि तिहार बिदाका कारण कम्पनी रजिष्ट्रारको कार्यालय र सेबोन दुवैले सुनुवाइ गर्ने अवस्था थिएन।

तिहार बिदा सकिएको भोलिपल्ट कार्यालय नखुल्दै रुङ्गटाले विशेष साधारण सभा गराए। उनीसहित ५ जना सञ्चालक सर्वसम्मत चयन भएको पत्र कात्तिक २० गते बिहान ९ बजे नै सेबोन र नेप्सेमा पठाइयो।

रुङ्गटाको चाहना अनुसार सञ्चालक चयन

५ जना सञ्चालक सर्वसम्मत चयन भएको भनिएपनि विशेष साधारण सभा निष्पक्ष र पारदर्शीरुपमा गराएको मान्ने आधार नभएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालय र सेबोनमा अर्को उजुरी परेको छ।

सञ्चालक समिति छनोटका लागि तोकिएको अवधिमा कम्पनीको बेवसाइट नै बन्द गरिएको, विदाको अवधिमा कार्यालय खुला रहने भनिए पनि बन्द अवस्थामै रहेको उजुरीमा उल्लेख छ।

‘निर्वाचनका सबै कार्यक्रम लामो सार्वजनिक बिदामा पारिनु, निर्वाचन सम्बन्धी अत्यावश्यक जानकारीहरु समयमै सार्वजनिक नगरिनु एवं ती जानकारीहरुमा सेयरधनीहरुलाई सरल र सहज पहुँच नदिइनु, कम्पनीको वेबसाइट लगायत सूचना सञ्चारका सबै माध्यम बन्द गरिनु तथा पूरा समय खुला रहनुपर्ने कार्यालय खुला नरहनुले यो निर्वाचन धाँधलीपूर्ण तरिकाबाट औपचारिकता पूरा गर्न मात्र गरिएको तथ्य स्वतः स्पष्ट देखिन्छ,’  उजुरीमा भनिएको छ, ‘लामो सार्वजनिक बिदा सकिएकै भोलिपल्ट साधारण सभा राखिएबाट कुनै पनि निकायले स्थगित गर्ने मौका नै नपाउन भन्ने कुनियत स्पष्ट देखिन्छ।’

अध्यक्षमाथि आरोप

साधारण सभामा गणपूरक संख्या पुगेकोप्रति प्रश्न उठाइएको छ। कम्पनीका अध्यक्ष रुङ्गटाले आफूअनुकूल सञ्चालक छान्न भएभरको शक्ति प्रयोग गरेको कतिपय लगानीकर्ताको भनाइ छ। उनीमाथि कम्पनीका केही सेयरधनीहरुलाई धम्क्याउने गरेको आरोप छ।

‘कम्पनीमा रुङ्गटाको एकाधिकार जस्तै हो। सञ्चालक समितिमा उनले आफूअनुकूल मान्छे ल्याउन सबै शक्ति लगाए,’ एक लगानीकर्ताले भने, ‘उनले आफूअनुकूल निर्णय गर्न नपाए कम्पनी छोडेर अमेरिका हिंड्ने धम्की दिने गरेका छन्।’ उनी अमेरिकामा अध्ययन गरेर फर्किएका हुन्।  

सीईडीबी हाइड्रोपावर कम्पनी नेप्सेमा सूचीकृत छ। यसको चुक्ता पुँजी हाल १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ छ। कम्पनीको १ करोड ३ लाख ४२ हजार ३७१ कित्ता सेयर नेप्सेमा सूचीकृत छ।

सञ्चालकको प्रष्टीकरण

कम्पनीका सञ्चालक भने तिहार बिदाका बेला मतदाता नामावली प्रकाशन हुनु र उम्मेदवारी दर्ताको समय पर्नु संयोग मात्रै भएको बताउँछन्।

‘हामीले अर्को साधारण सभाबाट सञ्चालक समिति छनोट गर्ने तयारी गरेका थियौं। तर, नियामक निकायहरुले नै कात्तिक २८ गतेसम्मको अवधि दिएका कारण हतारमा गर्नुपर्दा यस्तो अवस्था आएको हो,’ सञ्चालक उत्तम भ्लोनले भने, ‘सबै प्रक्रिया पुर्‍याएरै सञ्चालक समिति छनोट भएको हो। यसमा केही लगानीकर्ताले असन्तुष्टि जनाएका हुन्।’

उनले अध्यक्ष रुङ्गटाले कम्पनीमा राम्रोसँग नेतृत्व गरिरहेकाले आफूहरुले प्रश्न उठाउने ठाउँ नै नरहेको बताए। ‘उहाँको नेतृत्वमा कम्पनीले राम्रो गरिरहेकैले सेयर भाउ माथि गएको हो। त्यसैले अध्यक्षले आफूले चाहे अनुसार काम गर्ने टिम चाहनुलाई अन्यथा मान्नु हुँदैन,’ उनले भने।

उनले कम्पनीका सेयरधनीले समयमा आवश्यक सूचना नपाएको र वेभसाइट नचलेको स्वीकार गरे। ‘हामीले वेभसाइटमा आवश्यक सबै सूचना राख्न भनेका छौं। आफैं राख्न हामी जागिरे त होइनौं नि,’ उनले भने।

कम्पनीको वेभसाइटमा सञ्चालक समितिका सदस्य र व्यवस्थापनमा रहेका कर्मचारीको विवरण छैन। यस्तै वित्तीय विवरण र कम्पनीले लगानी गरेका आयोजनाको विवरण पनि कम्पनीको वेभसाइटमा उपलब्ध छैन।