काठमाडौं। सत्ता गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा(एमाले)ले आपसमा समन्वय गरी सरकारको कामकारबाही प्रभावकारी बनाउन भन्दै संयन्त्र गठन गरेका छन्।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री तथा केन्द्रीय सदस्य रमेश लेखक र परराष्ट्रमन्त्री तथा केन्द्रीय सदस्य आरजु राणा सदस्य छन्।
यस्तै एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललाई संयन्त्रको सदस्य बनाएको छ।
सरकारले हनिमुन अवधि आशा जगाउने कामै नगरी बिताएको भनेर सत्तारुढ दलभित्रै असन्तुष्टि बढेपछि समन्वय गरी प्रभावकारी काम गर्न भन्दै संयन्त्र गठन गरिएको दुवै दलका नेताहरुले बताएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रदेश र स्थानीय तहमा पनि यस्तो संयन्त्र गठन हुने बताए। संयन्त्रको नेतृत्व दुई दलले आलोपालो गर्ने सहमति छ।
‘यो महिना एमालेले बैठक बोलाउँछ। अर्को महिना कांग्रेसले बोलाउने गरी संयन्त्र गठन भएको छ। यसमा संयोजक कोही पनि छैन,’ गुरुङले भने।
संयन्त्रले दुई दलभित्रका असन्तुष्ट नेताहरुसँग पनि संवाद गर्नेछ। गुरुङका अनुसार महत्वपूर्ण विषयमा दुई दलबीच समान धारणा बनाउने जिम्मा पनि संयन्त्रले पाएको छ।