काठमाडौं। वर्ल्ड ट्राभल मार्ट (डब्लुटीएम)मा नेपालले दुई वर्षपछि सहभागिता जनाएको छ।
लण्डनमा मंगलबार सुरु भएको डब्लुटीएममा नेपालले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको नेतृत्वमा भाग लिएको हो।
ट्राभल मार्ट नेपालका तर्फबाट साहसिक यात्रा, सांस्कृतिक विविधता र विभिन्न गन्तव्यबारे प्रस्तुति गरिएको बोर्डले जनाएको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले डब्लुटीएममा सहभागिताले विश्वभर नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुगेको बताए। ‘डब्लुटीएमले विश्वमाझ नेपालको प्रचार गर्न सघाउ पुगेको छ,’ उनले भने, ‘हाम्रो संस्कृति, प्राकृतिक सुन्दरता र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्नेहरुसँग सम्बन्ध स्थापित गर्न मार्टले अवसर प्रदान गरेको छ।’
मार्टमा १८४ देशका ३८ सय ७५ प्रदर्शक सहभागी छन्। बिहिबारसम्म चल्ने मार्टमा पर्यटन पवर्धनबारे विभिन्न ८२ वटा सत्रमा छलफल हुनेछ। बोर्डले गत वर्ष मार्टमा सहभागिता जनाएको थिएन।