काठमाडौं। सरकारले विश्व बैंकको सहयोगमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको पूर्वतयारी फास्ट ट्र्याकमा गर्ने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बुधबार बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले पाँच आयोजनाको पूर्वतयारी फास्ट ट्र्याकमा गर्ने निर्णय गरेको हो। बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा सबै विषय टुंगो लगाइ पूर्वतयारीका काम सक्ने निर्णय गरेको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागमती-पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधार आयोजनाको पूर्वतयारी चाँडो सम्पन्न गर्ने निर्णय भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिंचाइ र पहुँच तथा उत्थानशिलताका लागि डिजिटल सेवा रुपान्तरण सम्बन्धी आयोजनाको पूर्वतयारी पनि फास्ट ट्रयाकमा गर्ने निर्णय भएको छ।
सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी आयोजनाको पूर्वतयारी गर्नेछन्। आवश्यकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ।
पूर्वतयारी पूरा भएपछि सन् २०२५ मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेस गर्ने योजना छ।
अर्थमन्त्री पौडेलले आयोजनाको पूर्वतयारीमा विशेष ध्यान दिन र आयोजना स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिए। उनले नेपालले आफ्नो आवश्यकता अनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताए।
बैठकमा अर्थ, भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सहभागी थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि पनि बैठकमा थिए।