विराटनगर। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्।
सरकारी स्वीकृतिविना जापान भ्रमणमा गएपछि विवादमा तानिएका अधिकारीले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
मन्त्री अधिकारी केही दिनअघि जापान भ्रमणमा गएकामा त्यहाँको सुरक्षादस्ताले विमानस्थलबाट बाहिर निस्कन नदिएपछि फर्किएका थिए। यो घटना बाहिर आएपछि आफूले राजीनामा दिएको अधिकारीको स्पष्टोक्ति छ ।
प्रदेश मन्त्रिपरिषद्का सदस्य आफूखुशी विदेश जान पाउँदैनन्। मुख्यमन्त्रीलाई जानकारी गराउनुका साथै सरकारी स्वीकृति लिनुपर्छ। अधिकारी कसैलाई थाहा नदिई सुटुक्क जापान पुगेका थिए।
अधिकारीले नैतिकताका आधारमा राजीनामा दिएको बताए। ‘नैतिकता र जिम्मेवारी भनेको व्यक्तिगत रूपमा आफूले बोध गर्ने विषय हो। मैले बोध गरें। त्यसैले राजीनामा गरेको हुँ,’ उनले भने।
उनले बिजमाण्डूको प्रश्नमा जापानको टोकियो महानगरबाट ‘कल्चर एन्ड होम’ कार्यक्रमको निम्तो र टिकट तिहारका बेला एकैचोटि आएकाले आफू खबर नगरी गएको बताए। ‘तिहारको छुट्टी थियो। त्यसैले कसैलाई खबर गर्न पाइन। सुटुक्क गएकै हुँ। यति दुष्प्रचार होला भन्ने लागेको थिएन,’ उनले भने।
उनी एमालेका हुन्। गएको निर्वाचनमा उनी मोरङ-२ ख बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।