काठमाडौं । अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले विश्वकै धनाढ्य इलन मस्कलाई ‘न्यू स्टार’ को संज्ञा दिएका छन्।
फेरि राष्ट्रपति निर्वाचित हुने निश्चित भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले मस्कलाई नयाँ स्टार भनेका हुन्।
कार्यक्रममा ट्रम्पले आफूलाई निर्वाचित घोषणा गरेका थिए। अनि आफ्नो साथमा लागेका मस्कको तारिफ गरेका थिए।
निर्वाचनको मत गणना हुँदै गर्दा अहिले मस्क एक्स (पहिला ट्वीटर)मा आक्रामक शैलीमा प्रस्तुत भइरहेका छन्। उनले ट्रम्पसँगको तस्विर राख्दै भविष्य निकै राम्रो हुने प्रतिक्रिया दिएका छन्।
एक्स (पहिला ट्वीटर) का मालिक इलन मस्क यसपटक ट्रम्पको चुनावी अभियानमा खुलेका लागेका थिए। निर्वाचनका क्रममा उनले अमेरिकी संविधान मान्नेलाई हरेक दिन १० लाख अमेरिकी डलर समेत दिएका थिए। उनको यो कदमलाई ट्रम्पको समर्थनका रुपमा लिइएको थियो।
रकम दिन रोक्न अदालतमा मुद्दा परे पनि अदालतले भने मस्कलाई नै साथ दिएका थिए।
आज सम्बोधनका क्रमा ट्रम्पले मस्कलाई ‘वान्डरफूल’ भन्दै रिपब्लिकन पार्टीको नयाँ स्टार भनेका हुन्।