एनएसीको न्यारोबडी तीन दिनदेखि मुम्बइमा ग्राउण्डेड, व्यवस्थापनको कमजोरीले मर्मतको छैन टुंगो

वसन्तराज उप्रेती
२०८१ कात्तिक २० गते २१:०४ | Nov 5, 2024
एनएसीको न्यारोबडी तीन दिनदेखि मुम्बइमा ग्राउण्डेड, व्यवस्थापनको कमजोरीले मर्मतको छैन टुंगो
फाइल फोटो

काठमाडौं। नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज तीन दिनदेखि मुम्बईमा ग्राउण्डेड भएको छ। जहाज ग्राउण्डेड हुँदा उडान तालिका नै बिथोलिएको छ।

Tata
GBIME
NLIC

आइतबार १२० यात्रु लिएर मुम्बई पुगेको जहाज अवतरणका क्रममा बर्ड हिट भएको थियो। समयमै मर्मत हुन नसक्दा निगमको बैंङ्लोर, दुबईलगायत गन्तव्यको उडान प्रभावित भएको एक कर्मचारीले बताए।

‘चरा ठोक्किएर जहाजको अगाडिको भागमा क्षति भएको छ। एयर इण्डिया र इण्डिगोले सामान नदिएपछि यतैबाट हिजो सामान पठाइएको थियो,’  कर्मचारीले भने, ‘एक घण्टाभित्रै हुनुपर्ने मर्मत हुन सकेको छैन।’

यो जहाजमार्फत मंगलबार काठमाडौं-बैङ्लोरतर्फ १५८ र बैङ्लोर-काठमाडौंतर्फ १२० जनाको टिकट काटिएको थियो। उडानलाई रि-रुटिङ गर्दा ५० लाख रुपैयाँ नोक्सान भएको ती कर्मचारीले बताए।

निगमका प्रवक्ता रमेश पौडेलले बर्ड स्ट्राइकका कारण ९ एन-एकेएक्स कलसाइनको जहाज ग्राउन्डेड भएको बताए।

पौडेलले मर्मतका लागि आवश्यक पार्टपुर्जाको प्रबन्ध भइसकेको पनि बताए।

अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग रहेका चार वटा जहाजमध्ये सि-चेकका लागि इटली पठाइएको एउटा जहाज ६७ दिनदेखि उतै ग्राउण्डेड छ।

३० दिनभित्रै रिलिजको सम्झौता भए पनि निगमले जहाज पाएको छैन।