काठमाडौं। तिहार बिदापछिको पहिलो कारोबार दिनमा नेप्सेमा सामान्य गिरावट आएको छ। मंगलबार कारोबार खुलेदेखि उचारचढावपूर्ण बनेको सेयर बजार अन्तिममा ०.२१ अंकले घटेर २६७७.४० विन्दुमा झरेको छ।
निर्जीवन बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन, फाइनान्स, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड र अन्य बाहेकका सूचकले बजार घटाएका हुन्।
कारोबारमा आएका ३०२ मध्ये १२४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। मध्य सोलु हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
११३ कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। दुई कम्पनीको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ। सुपरमाई हाइड्रोपावर र समाज लघुवित्त वित्तीय संस्थाको सेयर भाउ सर्वाधिक बढेको हो।
४ अर्ब २० करोड ५५ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक नेपाल फाइनान्सको २९ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, सानिमा जीआइसीको १६ करोड ११ लाख, एनएलजी इन्स्योरेन्स १५ करोड ८४ लाख र आइजीआई प्रुडेन्सियलको ११ करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।