काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजले पनि उडान गर्ने भएको छ। भैरहवामा उडानका लागि कतार एयरवेजको प्राविधिक टोलीले अध्ययन सुरु गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले भैरहवामा उडानका लागि कतार एयरवेजले गृहकार्य थालेको जानकारी आएको बताए।
‘भैरहवामा उडान गर्नका लागि कतार एयरवेज पनि आन्तरिक तयारीमा जुटिसकेको जानकारी आएको छ,’ उनले भने, ‘प्राविधिक टोलीले विमानस्थलको अवलोकन गर्ने लगायत अध्ययन गरिरहेको सूचना पाएका छौं।’
कतार एयरवेजले अहिले काठमाडौं-दोहा सातामा २८ उडान गर्दै आएकामा ट्याक्सी वे विस्तारका कारण कात्तिक २३ गतेबाट दिनमा २ उडान मात्र गर्न पाउनेछ। त्रिभुवन विमानस्थलको विकल्पमा कम्पनीले भैरहवामा उडानको तयारी गरेको हो।
कतार एयरवेजले उडान गरे अरु वायुसेवा कम्पनीमाथि पनि दबाब पर्नेछ। टीआईए दैनिक १० घण्टा बन्द हुँदा ३० प्रतिशत उडान कटौती हुने भएपछि वायसेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनीहरु धमाधम भैरहवा जान थालेका हुन्।
मलेसियाको लो कस्ट वायुसेवा कम्पनी थाइ एयर एसियाले कात्तिक १८ गते भैरहवा-बैंकक उडान सुरु गरिसकेको छ भने जजिरा एयरवेज र फ्लाइ दुबईले भैरहवामा कात्तिक २४ बाट उडान गर्दैछन्।
क्यानले ट्याक्सी वे विस्तारका कारण त्रिभुवन विमानस्थल कात्तिक २३ देखि चैतसम्म दिनमा १० घण्टा बन्द हुने भन्दै वायुसेवा प्रदायक कम्पनीहरुलाई भैरहवा र पोखरामा उडान गर्न यसअघि नै आग्रह गरेको थियो।
सरकारले त्रिभुवन विमानस्थलको विकल्पमा भैरहवा र पोखरामा उडान गर्ने कम्पनीलाई विभिन्न किसिमका छुट दिने कार्ययोजना साउन २८ गते स्वीकृत गरेको थियो।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीका प्रतिनिधिलाई भदौ ११ गते मन्त्रालयमा बोलाएर कार्ययोजनाबारे ब्रिफिङ गरेका थिए।
कार्ययोजनामा दुवै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा यात्रु सेवा, पार्किङ, ल्याण्डिङ र न्याभिगेसन सेवा शुल्कमा पूर्ण छुट दिने, ग्राउण्ड ह्याण्डलिङ सेवामा क्यानले ७५ प्रतिशत छुट दिने लगायत व्यवस्था छ।
अहिले अन्तर्राष्ट्रिय उडानमा यात्रु सेवा शुल्क ३ हजार रुपैयाँ लाग्ने व्यवस्था छ। यस्तै पर्यटन शुल्क नलिने भनिएको छ।अहिले हवाई टिकटमा १ हजार रुपैयाँ पर्यटन शुल्क लगाउने गरिएको छ।
दुवै विमानस्थलमा हवाई इन्धनको मूल्य ब्रेक इभन प्वाइन्टमा निर्धारण गरी बिक्री गर्ने भनिएको छ।
वैदेशिक रोजगार गन्तव्यमा जान पोखरा र भैरहवाबाट तरुन्तै भिसा प्राप्त गर्ने, श्रमिकहरुको स्वास्थ्य परीक्षणको व्यवस्था एक महिनाभित्र मिलाउने, श्रमिकलाई वैदेशिक रोजगारीमा जानुअघि तालिम र अभिमुखीकरण पोखरा र भैरहवाबाट दिने व्यवस्था एक महिनाभित्र मिलाउने लगायत कार्ययोजनामा समावेश विषय भने अझै कार्यान्वयन गरिएको छैन।
गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋण लिएर बनाइएका हुन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको अढाइ दुई वर्ष भइसकेको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सम्पन्न भएको दुई वर्ष हुँदा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।