
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी) ले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई ऋणको किस्ता तिरेको सम्बन्धमा कात्तिक १ गते प्रेस विज्ञप्ति निकाल्यो।
विज्ञप्ति अनुसार एनएसीले न्यारोबडी जहाजको पूरा र वाइडबडी जहाजको आंशिक गरी नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई किस्ताबापत कुल ५३ करोड ९ लाख रुपैयाँ बुझाएको हो।
एनएसीले यसपालि किस्ता रकम कसरी जोहो गर्यो त?
यो प्रश्न किन पनि स्वाभाविक छ भने तीन महिनायता एनएसीको व्यापार चौपट छ। उसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाज रहेकामा उसले तीन महिनायता एक साथ चार जहाज सञ्चालन गर्न सकेको छैन।
एउटा वाइडबडी जहाज भदौ १२ देखि ग्राउण्डेड छ। एक महिनामा सि-चेक गर्ने भनेर पठाइएको जहाज अझै फर्किएको छैन। ९ एन-एएलजेड कलसाइनको जहाज ग्राउण्डेड हुँदा एनएसीले एक अर्ब रुपैयाँ गुमाइसकेको छ।
अर्को वाइडबडी जहाज पनि त्यतिबेला दुई महिनासम्म ग्राउण्डेड भएको थियो। त्यो जहाज ग्राउण्डेड हुँदा पनि एनएसीले उसैगरी आम्दानी गुमायो। एनएसीको आम्दानीको मुख्य आधार अन्तर्राष्ट्रिय उडान हो। तर, जहाज मर्मतमा खेलाँचीका कारण एनएसीले असार दोस्रो सातायता आम्दानी गुमाइरहेको छ।
यस्तो बेला किस्ता रकम कसरी व्यवस्थापन भयो त?
एनएसी व्यवस्थापनले महँगो ब्याजदरमा ऋण लिएर ऋणको किस्ता रकम तिरेको पाइएको छ। एनएसीले हिमालयन बैंकबाट १० प्रतिशत ब्याजदरमा ऋण लिएर नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई असोज मसान्तमा किस्ता तिरेको हो।
‘असार दोस्रो सातायता वाइडबडी जहाज पालैपालो ग्राउण्डेड भएकाले आम्दानी चौपट भएको छ। त्यसैले यसपालि किस्ता रकम तिर्न सक्ने अवस्था थिएन। अध्यक्षज्यूले हिमालयन बैंकबाट ऋण निकालेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ता तिर्न लगाउनुभएको हो। ऋणको किस्ता तिर्न ऋण लिनुपरेको स्थिति छ,’ एनएसीका एक उच्च अधिकृतले भने।
एनएसी स्रोतका अनुसार किस्ता तिर्नका लागि बैंकसँग करिब साढे १० प्रतिशत ब्याजदरमा ऋण लिइएको हो। ‘किस्ता नतिर्दा आफूले काम गर्न नसकेको सन्देश जाने भएकाले अध्यक्षज्यूले ऋण लिएर किस्ता तिर्न लगाउनुभएको हो,’ ती उच्च अधिकृतले भने।
ऋण बढैको बढ्यै
अधिकारीले आफूले अध्यक्षको जिम्मेवारी सम्हालेपछि ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार रुपैयाँ किस्ता रकम भुक्तानी गरेको भन्दै यसलाई सफलताको रुपमा प्रचार गर्दै आएका छन्। तर, ऋण रकम भने बढेको बढ्यै छ।
एनएसीले २०७४ असारमा वाइडबडी जहाज किन्न नागरिक लगानी कोषसँग १२ अर्ब र कर्मचारी सञ्चय कोषसँग १२ अर्ब रुपैयाँ ऋण लिएको थियो। तर, सम्झौता अनुसार किस्ता रकम नतिरेका कारण नागरिक लगानी कोषलाई बुझाउनुपर्ने रकम बढेर सवा १९ अर्ब रुपैयाँ पुगिसकेको छ।
कोषका वरिष्ठ अधिकृत उद्धव सिलवालले गत आर्थिक वर्षदेखि एनएसीले किस्ताबापत १० करोड रुपैयाँ मात्र बुझाउँदै आएको जानकारी दिए। जबकि समयमा एउटै किस्ताको रकम ७२ करोड रुपैयाँ पुगिसकेको छ।
‘७ वर्ष अगाडि दिएको १० अर्ब रुपैयाँ ऋणको सावा ब्याज अहिले १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ,’ सिलवालले भने, ‘एक किस्तामा तिर्नुपर्ने रकम ७२ करोड पुगेकामा एनएसीले यो वर्षको पहिलो किस्ता १० करोडभन्दा बुझाएन। गत आर्थिक वर्ष पनि हामीले चार किस्तामा पाएको ४० करोड रुपैयाँ मात्र हो।’
२०७४ जेठ २९ गते ऋण सम्झौता हुँदा ३ महिनाको किस्ता रकम ४० करोड रुपैयाँ कायम भएको थियो। कोषले सरकारको जमानीमा एनएसीलाई ९ प्रतिशत ब्याजदरमा ऋण दिएको थियो।
एनएसीले कर्मचारी सञ्चय कोषसँग वाइडबडीका अतिरिक्त न्यारोबडी जहाज किन्न थप १० अर्ब गरी २२ अर्ब रुपैयाँ ऋण लिएकामा अहिले त्यो करिब ३१ अर्ब रुपैयाँ पुगिसकेको छ।
कोषका सूचना अधिकारी दामोदर सुवेदीले सम्झौता अनुसार किस्ता नतिरेका कारण न्यारोबडी जहाजको ऋण रकम साढे १० अर्ब र वाइडबडी जहाजको पौने २० अर्ब रुपैयाँ पुगेको जानकारी दिए।
‘एनएसीले किस्ता त तिरिरहेको छ। तर, निकै न्यून रकम। त्यसैले ऋण रकम बढेर करिब ३१ अर्ब रुपैयाँ पुगेको छ,’ उनले भने।
कोषको ऋणको ब्याजदर अहिले ९.३२ प्रतिशत छ। सञ्चय कोषले एनएसीबाट हरेक तीन महिनामा एनएसीबाट डेढ अर्ब रुपैयाँ पाउनुपर्नेमा ४३ करोडभन्दा पाएको छैन।