काठमाडौं। थाइ एयर एसियाले आइतबारदेखि काठमाडौं र भैरहवाबाट बैंककतर्फ नियमित व्यावसायिक उडान थाल्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले राखेको सर्त बमोजिम कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न लागेको हो।
अनुमति नलिइ काठमाडौं उडान गरेपछि थाइ एयर एसिया एक साताअघि प्राधिकरणको कारवाहीमा परेको थियो। उक्त वायुसेवाले काठमाडौंबाट पुनः उडान सुरु गर्न लागेको हो। भैरहवाबाट भने कम्पनीले पहिलोपटक बैंककतर्फ नियमित उडान गर्न लागेको हो।
‘थाइ एयर एसियालाई हामीले काठमाडौंबाट साताको ४ दिन र भैरहवाबाट साताको दुईवटा उडान गर्नेगरि अनुमति दिएका हौं,’ नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘उसले आइतबारदेखि दुवै विमानस्थलबाट व्यावसायिक उडान सञ्चालन गर्ने भएपछि पुनः उडान स्वीकृति दिएका हौं।’
उनका अनुनसार कम्पनीले बैंकक-भैरहवा बिहान ७ बजे अवतरण गर्नेछ भने भैरहवा-बैंकक बिहान ८:५० मा उडान गर्नेछ। भैरहवाबाट सुरु गर्न यो गन्तव्य उडानका लागि एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको छ।
काठमाडौंमा भने उसले दिउँसो २ बजे अवतरण गरेर ३ बजे पुनः काठमाडौं-बैंकक उडान गर्ने तालिका रहेको सूचना अधिकारी भुलले जानकारी दिए।
थाइ एयर एसियाले ५ वर्षपछि गत असोज १६ गतेबाट काठमाडौं-बैंकक रुटमा उडान सुरु गरेको थियो। कम्पनीले साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि ४ दिन उडान गर्ने अनुमति पाएको थियो।
नेपालका लागि थाइ एयर एसियाको आधिकारिक जनरल सेल्स एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल हो।
जजिरा पनि भैरहवाबाट पुनः उडान गर्दै
आइतबारबाटै भैरहवा-कुवेत दुईतर्फी व्यावसायिक उडान गर्ने जजिरा एयरवेजको योजना भने ६ दिन पर धकेलिएको छ। कम्पनीको प्राविधिक कारण भोलिबाट हुने भनेको उडान आउँदो शनिबारका लागि धकेलिएको प्राधिकरणका सूचना अधिकारी भुले जानकारी दिए।
‘जजिराको टिकट बिक्री सुरु भइसकेको छ। उसले गरेको पत्राचारका आधारमा आउँदो शनिबारबाट उडान गर्नेगरि स्वीकृति दिइएको छ,’ भुलले भने, ‘उसले साताको ३ वटा उडान भैरहवाबाटै गर्ने अनुमति पाएको छ।’
जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने गरी अनुमति पाएको छ। दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो। प्राविधिक कारण देखाउँदै १० महिनापछि उडान स्थगित गरिएको थियो।
नेपालका लागि जजिराको आधिकारिक जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनल हो।
आइतबारदेखि फ्लाइ दुबईको सातै दिन ‘टच डाउन’ उडान
भैरहवामै आउँदो २५ गते फ्लाई दुबईले दुबई-भैरहवा–काठमाडौं उडान गर्ने गरि टिकट बिक्री सुरु गरिसकेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १: ४५ मा भैरहवा र २:४५ मा काठमाडौं आउनेछ। काठमाडौंमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्ने तालिका छ।
कम्पनीले हप्ताको सातै दिन दुबई-भैरहवा र भैरहवा-काठमाडौं-दुबई उडान गर्न लागेको हो। यससँगै फलाई दुबईको उडान गन्तव्य सङ्ख्या १ सय १३ पुगेको छ भने ५३ देशमा यसको सेवा विस्तार भएको छ। सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एण्ड ट्राभल्स छ।
त्यसैगरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ। उक्त एयरलाइन्सको प्राविधिक टोलीले हालै गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो।
दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरूप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको हो।