देश झिलिमिलि हुँदा नेपालमै पहिलोपटक बिजुली बलेको घरमा अन्धकार, भत्कियो टेकोमा अडिएको इतिहास

बिजमाण्डू
२०८१ कात्तिक १५ गते १८:१० | Oct 31, 2024
देश झिलिमिलि हुँदा नेपालमै पहिलोपटक बिजुली बलेको घरमा अन्धकार, भत्कियो टेकोमा अडिएको इतिहास

काठमाडौं । काठमाडौंको फर्पिङमा राणाकालमा बनाइएको पावर हाउससँगैको खेल मैदानमा अहिले बालबालिकाहरु खेल्न पुगिरहेका छन्। दसैं तिहारको बिदाको समय भएकोले धेरै समय यहाँ उनीहरु खेल्न पुग्छन्।

Tata
GBIME
NLIC

नेपालकै पहिरो पावरहाउस भएकोले छुट्टीमा यहाँ पुग्नेको संख्या पनि बाक्लैछ। तिहारको बेला यहाँबाट देखिने काठमाडौं उपत्यकाको दृश्य हेर्न आज धेरै जना यहाँ पुगिरहेका छन्।

फर्पिङको पावरहाउस

तर, यही फर्पिङबाट बिजुली उत्पादन गरेर पहिलोपटक बत्ती बलेको घर भने ओझेलमा परेको थुप्रै भइसक्यो।

काठमाडौंको फर्पिङमा पावर हाउस बनाएर त्यहाँबाट ललतिपुरको खोकनामा पहिलोपटक बिजुली लगिएको थियो। र, रुद्रायणी मन्दिरसँगैको घरमा बिजुली बालिएको थियो।

२०७२ सालको भूकम्पले जीर्ण बनेको सो घरको केही भाग करिब दुई साता अघि भत्किएको छ।

खोकना बसपार्कबाट रुद्रायणी मन्दिर जाने बाटोमा छ सेतो रंगले पोतिएको माटोको पुरानो घर। सँझ्याः, तिकिझ्याः, म्हय्‌खाझ्याः रहेको घर भने टेकोको भरमा अड्डिएको वर्षौं भइसक्यो। सँझ्या: (तीन मुखे झ्याल) को मुनितिर भने सिंहको मुखमा बल्ब अझै झुणडिएको छ। त्यसै तल एउटा बोर्डमा लेखिएको छ ‘वेलकम टु द खोकना म्युजियम’।

यो त्यही घर हो, जहाँ नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको थियो। तर, अहिले एतिहासिक महत्व बोकेको यो घर भत्किएको छ।

आज सबै जना तिहारको रमझममा झुमेका छन्। घरहरूमा झिलिमिली बत्ती बलिरहेका छन्। तर, नेपालमै पहिलो पटक बत्ती बलेको घरमा भने बिजुलीका तार र बल्ब त छन्। तर, बत्ती बाल्न घरमा मानिस बस्ने अवस्था नै छैन। यो सिलसिला चलेको वर्षौं भइसक्यो।

भूकम्पपछि यो घरका दलीनहरू मक्किएका थिए भने भित्ताहरू चर्किएका थिए। होचो ढोकाबाट साँघुरो ठाउँ हुँदै उक्लिँदा मोबाइलमा टर्च बाल्नुपर्ने अवस्था थियो। पर्यटक आउँदा घरधनीहरु यहाँको कथा सुनाउँथे । तर, अब कहिलेकाही पर्यटक आउँदा खोलिने ढोका पनि केही सातादेखि त बन्द नै हुन पुगेको छ।

भूकम्प पश्चात घरधनी मदनकृष्ण परिवारसहित खोकना दोबाटोमा सरे। कहिले काँही म्युजियम बनाइएको घर पुग्दा उनी यहाँका कथा सुनाउँथे। भन्थे : बाजे सिद्धिलाल महर्जनले फर्पिङमा सञ्चालन गरिएको जलविद्युत परियोजनाबाट पहिलोपटक आफ्नो घरमा बिजुली बलेको हो।

उनले त्यस बखत भनेका थिए : ‘राज्यले यो घरमा लगानी गर्नुपर्ने हो। यसले हामीलाई पनि सजिलो हुन्थ्यो।’

तर, राज्यको नजर नपुग्दै यो घर नै भत्किएको छ।

कसरी बल्यो सिद्धिलालको घरमा बत्ती?

राणा प्रधानमन्त्री चन्द्रशमशेरले फर्पिङको चन्द्रज्योति विद्युत गृहबाट उत्पादन भएको बिजुली ललितपुरको खोकना हुँदै दरबार पुर्‍याएका थिए। कहिल्यै प्रयोग नै नभएको बत्ती सिधै दरबारमा लान राणा शासकहरू हच्किरहेका थिए। त्यसैले उनीहरूले खोकनामा रहेको सिद्धिलाल महर्जनको घरमा बत्ती बालेर परीक्षण गर्ने निर्णय गरेको स्थानीयको भनाई छ।

पहिला सिद्धिलालले घरभित्रै बिजुली बाल्न मानेनन्। त्यसैले उनले घर बाहिर सिंहको टाउकोमा बल्ब राखेर बत्ती बालेको मदनकृष्णले बताएका थिए।

त्यसपछि घरमा लगातार तीन-चार वर्ष बिजुली बलेको थियो। पहिला नि:शुल्क भए पनि पछि राणा शासकहरूले मिटर जडान गरी पैसा लिन सुरु गरेका थिए। 

देशभर बिजुली बल्न थालेपछि खोकनाको यो घर इतिहासका पानाहरूमा सीमित हुँदै गयो। तर मदनकृष्णलाई आफ्ना बाजेबाबुको चिनो त्यसरी ढलेको हेर्ने रहर थिएन। तिहारमा सबैको घरमा झिलिमिली हुँदा आफ्नो घरलाई अन्धकारमा राख्ने कुरा पनि त भएन। उनले घरलाई संग्रहालय बनाउने निधो गरे।

२०६८ सालतिर नेपालमा पहिलोपटक बिजुली बत्ती बलेको घर संग्रहालय बन्यो। टिकट मूल्य राखियो ५०। तोरीको तेलले प्रसिद्ध रहेको खोकनाको नयाँ चिनारी बन्यो संग्रहालय।

व्यक्तिगत प्रयासमा मदनकृष्णले आफ्नो घरलाई संग्रहालय बनाउँदा न त सरकारले सहयोग गरेको थियो न त स्थानीय सरकारले नै। राणा शासनमा प्रयोग भएको बल्ब, मिटर, नेवारी संस्कृति झल्कने विभिन्न सामानहरु संग्रह गरि उनले संग्रहालय त बनाए, केही समय पर्यटकहरु पनि आए। तर सायद त्यो प्रयास पर्याप्त भएन। सामानहरु सुरक्षित भएनन्। कति त हराए। विद्युत प्राधिकरणले नयाँ मिटर जडान गरि राणाकालको मिटर नै लग्यो।

२०७२ मा गएको भूकम्पले उनको घरमा थप क्षति पुग्यो। टेकोको भरमा रहेको संग्राहलयमा बाँकी रहेका सामानहरू असुरक्षित हुने डरले सन्दुकमा जतन गरि राखियो। त्यसपछि त्यहाँ तिहारमा नि बत्ती बाल्न छाडियो।

‘भुइँमा टेक्यो कि हल्लिन्छ। कहिलेकाहीँ पर्यटक आउँछन्। के देखाउने। त्यसैले अहिले संग्रहालय बन्द गर्नु परेको छ,’ केही समय अघि भेट्दा मदनकृष्णले भनेका थिए।

मर्मत गरेर व्यवस्थित गर्न सक्यो भने संग्रहालय पुन: उज्यालो हुनेमा मदनकृष्ण विश्वास्त थिए। तर, अब त घर नै भत्कियो। यसपटक फेरि खोकना पुग्दा उनीसँग भेट भने हुन सकेन। घर भत्किएपछिको अवस्था बुझ्ने अवसर मिलेन।

संग्रहालय बनाइएको ऐतिहासिक घरसँगैको अर्को घर भत्काउने क्रममा सो घरमा पनि क्षति पुगेको हो। जसकारण अब फेरि यो घर संरक्षणको माग उठेको छ।

नेपालमै पहिलोपटक बिजुली बलेको र पाइपलाईनबाट पानी वितरण भएको एउटा सिंगो इतिहास बोकेको सहर खोकनाका स्थानीयहरुको पनि संग्रहालयलाई संरक्षण गर्नुपर्ने बताइरहेका छन्।

अब कहिले होला त देशमै पहिलोपटक बिजुली बलेको घरमा झिलिमिलि ?