काठमाडौं। बैंक तथा वित्तीय क्षेत्रका जानकारहरुले सम्पत्ति व्यवस्थापन कम्पनीको आवश्यकतामा जोड दिएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले काठमाडौंमा गरेको अन्तर्क्रियामा उनीहरुले अर्थतन्त्रमा थप क्षति हुन नदिन कम्पनी तत्काल स्थापना गर्नुपर्नेमा जोड दिएका हुन्। अर्थतन्त्रलाई गतिशिल बनाउन सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाले सहयोग पुग्ने उनीहरुको भनाइ छ।
सीबीफिनका अध्यक्ष उपेन्द्र पौडेलले बैंकिङ क्षेत्र सबैभन्दा पारदर्शी भएपनि पछिल्लो समय नियतवश ऋण नतिर्नेहरूका कारण क्रमशः जोखिमपूर्ण बन्दै गएको बताए।
बैंक तथा वित्तीय संस्थाहरुसँग पैसाभन्दा अचल सम्पत्ति बढी हुने विडम्बनायुक्त अवस्था सृजना भएकाले सम्पत्ति व्यवस्थापन कम्पनी आवश्यक रहेको उनको भनाइ छ।
‘अहिले बैंक तथा वित्तीय संस्थाहरुले विशुद्ध बैंकिङ सेवा तथा गतिविधिहरुभन्दा पनि बाध्यतावश कर्जा असूली र गैरबैंकिङ सम्पत्ति व्यवस्थापनतर्फ बढी केन्द्रित हुनुपरेको छ। यसले बैंकिङ क्षेत्रमात्र नभई अर्थतन्त्रमा समेत प्रभाव पारिरहेको छ। त्यसैले कर्जा र सम्पत्ति व्यवस्थापनको विषयलाई सार्थकता दिन अत्यावश्यक छ,’ उनले भने।
बैंकिङ प्रणालीलाई जोगाउन र अर्थतन्त्रमा पर्न सक्ने अकल्पनीय क्षतिबाट बचाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुको समेत संलग्नतामा कम्पनी स्थापना गर्न विलम्ब गर्न नहुने सरोकारवालाहरुले बताए। कम्पनी स्थापनाले बैंकिङ प्रणालीको दिगो विकासका साथै अर्थतन्त्रमा समेत योगदान पुग्ने उनीहरुको भनाइ छ।
कार्यक्रममा भारतको एसेट रिकन्स्ट्रक्सन इण्डियका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विनायक बहुगुणाले कम्पनी स्थापना गर्दा सचेत हुन सुझाव दिए।
उनले निष्क्रिय कर्जा/गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका विषयमा प्रचलनमा रहेका अन्तर्राष्ट्रिय अभ्यास र नेपालले ध्यान दिनुपर्ने विषयमा कार्यपत्र प्रस्तुत गर्दै कम्पनीको सफलता देशको वित्तीय स्थिरता र गतिशिलता, अनुकूल वातावरण र नीति, राजनीतिक प्रतिबद्धता र सहयोग, लगायत कुरामा निर्भर हुने बताए।
उनले भारतमा यस्ता कम्पनीको सुरुवाती व्यस्थापनमा केही समस्या देखिएको र पछिल्लो अवस्थामा सुखद परिणाम देखा परिरहेको सुनाए। उनले सचेत भएर कम्पनी स्थापना गर्दा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गरे।
सीबीफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले कोभिडपछि बैंक तथा वित्तीय संस्थाहरुको निरन्तररुपमा बढ्दै गएको निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिको समुचित व्यवस्थापनका लागि कम्पनी आवश्यक रहेको बताए।
‘कर्जा र गैरबैंकिङ सम्पत्तिमा भएको वृद्धिले निम्त्याउन सक्ने संभावित संकट र जोखिमलाई समयमै आंकलन गरी अगाडि बढ्न आवश्यक छ। त्यो भनेको सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना हो,’ उनले भने।