काठमाडौं । गत महिनाको बाढी पहिरोका कारण काठमाडौं उपत्यकासँग मोफसल जोड्ने कयौं सडकखण्डअरु बिग्रिए। त्यसक्रममा हेटौंडा जाने बल्खु- दक्षिणकाली- सिस्नेरी सडकखण्डमा पनि पहिरो गएको थियो।
चोभार क्षेत्रबाटै सडकहरु पहिरोका कारण प्रभावित भएका थिए। दक्षिणकालीसम्म पुग्ने सडकमाथिबाट धेरै ठाउँमा पहिरो गएको थियो। यस्तै, कयौं स्थानमा सडक भत्किएका थिए।
पछि पहिरो पन्छ्याएर सडक संचालन गरिए पनि धेरै स्थान अझै धरापमा रहेका छन्। सडकको दायाँ बायाँ पहिरोले ल्याएको माटो र रुखहरु थुपारिएर राखिएको छ।
माथिबाट पहिरो खसेको क्षेत्रमा थप क्षति रोक्न कुनै कदम चालिएको छैन। पहिरो गएको क्षेत्रमा थप रुखहरु ढल्न सक्ने अवस्थामा छन्। ती रुखहरुको व्यवस्थापनमा सरोकारवाला निकायको कुनै चासो देखिएको छैन।
यस्तो अवस्थामा दैनिक रुपमा सयौं गाडीहरु सो सडक हुँदै ओहोरदोहोर गरिरहेका छन्। सानो वर्षा र गाडीको चापले पनि सडक यात्रालाई सुरक्षित बनाएको छैन।
पोस्ट मनुसनमा थप वर्षा हुने आकलन भइरहँदा यस्तो बाटोहरु समयमा नै मर्मत हुनुपर्ने सो सडकखण्डबाट यात्रा गर्नेहरुले बताएका छन्।
प्रशासनसँगै सरोकारवालाले सडकमा थुपारिएका माटो र पहिरो गएको स्थानमा थप पहिरो रोक्न पर्न छिट्टै कदम चाल्नुपर्ने देखिएको उनीहरुले बताएका छन्।
पहिरो र बाढी प्रभावित सडकखण्डमा अहिले पनि मर्मत कार्य जारी छ। आजदेखि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द गरिएको छ। इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्न आजदेखि तीन दिनसम्म दुवै सडक बन्द गरिएको हो।
दुवै सडकको वैकल्पिक मार्ग हेटौंडा–भैँसे–पालुङ–काठमाडौं र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौं प्रयोग गर्न सकिनेछ।