काठमाडौं। वाणिज्य बैंकहरुले निक्षेपको ब्याज निरन्तर घटाउँदा सेयर धितो कर्जाको ब्याजदर एकल अंकमा आएको छ। बजारमा ऋणको माग सुस्त भएका कारण बैंक तथा वित्तीय संस्थाहरुले लगातार ब्याजदर घटाएपछि कर्जाको ब्याजदर ३० महिनायताकै सस्तो भएर एकल अंकमा आएको हो।
ऋणको माग नहुँदा बैंकहरुले एकातिर ब्याजदर घटाउन प्रतिस्पर्धा गरिरहेका छन् भने अर्कातिर कर्जा लगानी बढाउन विभिन्न स्किम ल्याइरहेका छन्।
ग्लोबल आइएमई बैंकले सेयर धितो कर्जाका लागि अनलाइनबाटै आवेदन दिन सक्ने योजना ल्याएको छ। बैंकले ल्याएको सेयर धितो कर्जाको स्किम अन्तर्गत लगानीकर्ताले ५ लाखदेखि २५ लाख रुपैयाँसम्म ऋण पाउनेछन्।
ग्लोबलले आधारदरमा २.५० प्रतिशत प्रिमियम थपेर सेयर धितो कर्जा दिने बताएको छ। बैंकको असोजको आधारदरमा प्रिमियम थप गर्दा ब्याजदर ९.४७ प्रतिशत प्रतिशत हुन्छ।
गत असारपछि सेयर बजार बढ्दा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा वृद्धि भएको छ। यो वर्ष दुई महिनामा ९ अर्ब ६७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ।
गत असारको तुलनामा यो रकम १०.७ प्रतिशतले धेरै हो। हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ९९ अर्ब ७६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ।
यो रकम बैंक तथा वित्तीय संस्थाहरुले गरेको कुल ऋण लगानीको १.९० प्रतिशत हो। भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ५२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।
सेयर धितो कर्जाको सबैभन्दा न्यून ब्याजदर एभेष्ट बैंकको छ। एभरेष्टले न्यूनतम ८.०४ प्रतिशत ब्याजदरमै ऋण दिने स्किम ल्याएको हो। यो बैंकको आधारदर ७.०४ प्रतिशत छ। त्यसमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर बैंकले सेयर धितो कर्जाको ब्याजदर तोकेको छ।
नबिल बैंकले आधारदरमा १ देखि ३.५० प्रतिशतसम्म प्रिमियम थपेर सेयर धितो कर्जाको ब्याजदर तोकेको छ। बैंकको आधारदर ७.२४ प्रतिशत छ।
एनएमबि बैंकले ७.७२ प्रतिशत आधारदरमा ३ प्रतिशतसम्म प्रिमियम थपेर सेयर धितो कर्जाको ब्याजदर निर्धारण गरेको छ।
आधारदरमा १ प्रतिशत मात्रै प्रिमियम जोड्दा ग्राहकले ८.७२ प्रतिशतमै ऋण पाउनेछन्। प्रभु बैंकले असोजमा आधारदर ७.७७ प्रतिशत छ। यसमा ३ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ग्राहकले ऋण पाउँछन्।
कुन बैंकको सेयर धितो कर्जाको ब्याजदर कति?
बैंक | आधारदर % | अधिकतम प्रिमियम % | खुद न्यूनतम सेयर धितो कर्जाको ब्याजदर % |
एभरेष्ट | ७.०४ | ३ | ८.०४ |
कृषि विकास | ७.६४ | २.५ | ८.६४ |
नबिल | ७.२४ | ३.५ | ८.२४ |
नेपाल | ७.२८ | ३.५ | ८.२८ |
ग्लोबल आइएमई | ७.४७ | २.५ | ८.४७ |
सानिमा | ७.६५ | ३.५ | ८.६५ |
सिद्धार्थ | ७.७४ | ३.२५ | ८.७४ |
एनएमबि | ७.७२ | ३ | ८.७२ |
प्रभु | ७.७७ | ५ | ८.७७ |
माछापुच्छ्रे | ७.८ | २.५ | ८.८ |
एसबीआई | ७.९१ | ३ | ८.९१ |
सिटिजन्स | ८.२५ | ४ | ९.२५ |
लक्ष्मी सनराइज | ८.१७ | २.५ | ९.१७ |
प्राइम कमर्सियल | ८.३५ | ५ | ९.३५ |
कुमारी | ८.४६ | ३ | ९.४६ |
एनआईसी एसिया | ९.०६ | ३ | १०.०६ |
हिमालयन | ८.३९ | ४ | १०.३९ |
कर्जाको ब्याजदर बैंकको आधार दरले तय गर्छ। अहिले बैंकहरुले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण लगानी गर्दै आएका छन्। बैंकको लागतका आधारमा तय हुने आधारदर न्यून हुँदा ग्राहकले ऋण पनि सस्तोमा पाउँछन्।
तर, आधारदर नै न्यून विन्दुमा आएका बेला बैंकहरुले ऋण लगानी बढाउन प्रिमियम घटाउन समेत प्रतिस्पर्धा गरिरहेका छन्।
एनआईसी एसिया बैंकबाट ग्राहकले १०.०६ देखि १२.०६ प्रतिशत ब्याजदरमा सेयर धितो ऋण पाउँछन्। कुमारीले सेयर धितो कर्जाको ब्याजदर ११.४६ प्रतिशत तोकेको छ। यस बैंकले आधारदर ८.४६ प्रतिशतमा प्रिमियम ३ प्रतिशतसम्म थपेर ऋण उपलब्ध गराइरहेको छ।
सानिमाले ७.५६ प्रतिशत आधारदरमा ३.५० प्रिमियम थपेर सेयर धितो कर्जाको ब्याजदर तोकेको छ। नेपाल बैंकले आधारदर ७.२८ प्रतिशतमा अधिकतम ३.५ प्रतिशतसम्म प्रिमियम थप हुने बैंकले जनाएको छ। आधारदरमा १ प्रतिशत मात्रै प्रिमिमय जोड्दा ग्राहकले ८.२८ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा पाउनेछन्।
बजारमा ऋणको माग सुस्त हुँदा बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन्। त्यही भएर कर्जाको ब्याजदर बढ्ने देखिंदैन। व्यक्तिगत लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट १५ करोड रुपैयाँसम्म सेयर धितो कर्जा पाउँछन्। संस्थागत लगानीकर्ताका लागि सीमा तोकिएको छैन।
संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा यसअघि लगाएको सीमा राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत खारेज गरेको छ।