अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च, रेमिटेन्स २.६३ खर्ब



बिजमाण्डू
२०८१ असोज २९ गते १७:०३ | Oct 15, 2024
अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च, रेमिटेन्स २.६३ खर्ब

काठमाडौं। आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकिरहेका बेला अर्थतन्त्रका बाह्य सूचक भने थप मजबुत देखिएका छन्।

Tata
GBIME
Zonsen

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार रेमिटेन्स, विदेशी मुद्राको सञ्चिति, चालु खाता र शोधनान्तर स्थिति थप मजबुत अवस्थामा देखिएका हुन्।

चालु आर्थिक वर्ष दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो रकम पोहोर २ महिनाको तुलनामा १५.२ प्रतिशतले धेरै हो। वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएसँगै रेमिटेन्स बढेको हो।

वैदेशिक रोजगारीका लागि दुई महिनामा ७६ हजार ४८५ युवाले अन्तिम श्रम स्वीकृति र ४० हजार ५८३ युवाले पुनः श्रम स्वीकृति लिएका छन्।

अघिल्लो वर्ष २ महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७४ हजार ४५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३२ हजार ४ थियो।

यस्तै विदेशी विनियमय सञ्चिति अहिलेसम्मकै उच्च भएको छ। २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा आइपुग्दा ५.५ प्रतिशतले वृद्धि भइ २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ बराबर पुगेको छ।

यो सञ्चितिले १६.८ महिनाको वस्तु र १३.७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकले जनाएको छ। बजारमा मागमा कमीका कारण आयात बढ्न नसक्दा केही महिनायता विदेशी मुद्राको सञ्चिति लगातार बढिरहेको छ।

यसपालि दसैंको मुखमा जम्मा १ खर्ब ३४ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। आयात नबढेका कारण भदौमा राजस्व संकलन ७२ अर्ब रुपैयाँमा सीमित हुन पुगेको थियो।

यस्तै चालु खाता र शोधनान्तर स्थितिमा शतप्रतिशत सुधार देखिएको छ। यो वर्ष भदौसम्म चालु खाता ४९ अर्ब ६९ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्ष दुई महिनामा चालु खाता २३ अर्ब ९७ करोड रुपैयाँ बचतमा थियो।

शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँ बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा
शोधनान्तर स्थिति ५५ अर्ब १० करोड रुपैयाँ बचतमा थियो।

राष्ट्र बैंकले चालु वर्ष निजी क्षेत्रतर्फ जाने कर्जा १२.५ प्रतिशतले बढ्ने लक्ष्य लिएकामा २ महिनामा जम्मा ७३ अर्ब ३९ करोड रुपैयाँ प्रवाह भएको छ। कर्जा जम्मा १.४ प्रतिशतले मात्र बढेको हो। अघिल्लो वर्ष २ महिनामा ३३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।