ऋण लगानीको साढे ७ प्रतिशत हिस्सा उर्जा क्षेत्रमा, कुन बैंकको कति लगानी ?

आकाश बोगटी
२०८१ असोज २७ गते १८:०० | Oct 13, 2024
ऋण लगानीको साढे ७ प्रतिशत हिस्सा उर्जा क्षेत्रमा, कुन बैंकको कति लगानी ?


काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले उर्जा क्षेत्रमा ३ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। चालु आर्थिक वर्षको साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस क्षेत्रमा कुल कर्जाको ३ खर्ब ८२ अर्ब ५७ करोड रुपैयाँ लगानी गरेका हुन्।

Tata
GBIME
NLIC

कुल कर्जामा यस क्षेत्रमा जाने कर्जाको हिस्सा ७.४० प्रतिशत छ। साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ५१ खर्ब ६९ अर्ब २९ रुपैयाँ लगानी गरेका छन्।

यस अवधिमा वाणिज्य बैंकहरूले मात्रै उर्जा क्षेत्रमा ३ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। विकास बैंकहरूले ९ अर्ब ९० करोड र फाइनान्स कम्पनीले ७० करोड रुपैयाँ लगानी गरेका छन्।

राष्ट्र बैंकले जलविद्युत्लाई प्राथमिकता प्राप्त क्षेत्रमा राखेको छ। वाणिज्य बैंकहरूले २०८१ असारसम्म कर्जाको न्यूनतम साढे ६ प्रतिशत जलविद्युत् क्षेत्रमा लगानी गर्नुपर्छ। प्राथमिकताको क्षेत्रमा लगानीको सीमा कायम गर्न नसके नियामकीय कारबाहीको व्यवस्था छ।

तोकिएका क्षेत्रमा प्रवाह गरिने कर्जा गणना, ६ महिनाअघिको जम्मा बक्यौता कर्जा तथा सापटीका आधारमा २०८१ पुस मसान्तदेखि सुरु गरी त्यसपछिको प्रत्येक त्रैमासमा सीमा कायम गर्न नसके कारबाही गरिने राष्ट्र बैंकका अधिकारीको भनाइ छ।

राष्ट्र बैंकका बैंक निर्देशक डिल्लीराम पोखरेल जलविद्युत् क्षेत्रमा बैंकहरूले लगानी बढाउन आवश्यक रहेको बताउँछन्।

‘जलविद्युत्ले धेरै क्षेत्रमा प्रभाव पार्ने हुँदा बैंकहरूको गर्नुपर्ने न्यूनतम लगानीको सीमा तोकेर निर्देशनात्मक व्यवस्था गरिएको हो,’ उनले भने, ‘२०८४ असारसम्म बैंकहरूले जलविद्युत्मा १० प्रतिशत लगानी गर्नुपर्छ। हामीले भनेको समयमा न्यूनतम सीमा कायम नगरे कारबाही हुन्छ।’

जलविद्युत् क्षेत्रमा जाने कर्जा बढ्दा त्यसले निर्माणसँगै अन्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

कुन बैंकको कति लगानी ?

सरकारले प्राथमिकतामा राखेका कारण राष्ट्र बैंकले गत असोजमा वाणिज्य बैंकहरूलाई निर्देशन जारी गर्दै २०८४ असारसम्म जलविद्युत् क्षेत्रमा न्यूनतम १० प्रतिशत लगानी गर्न भनेको छ।

निर्देशन अनुसार बैंकहरूले २०८२ असारसम्म ७ प्रतिशत, २०८३ असारसम्म ८ प्रतिशत र २०८४ असारसम्म १० प्रतिशत पुऱ्याउनु पर्नेछ।

साउनसम्म यस क्षेत्रमा कुमारी बैंकले सबैभन्दा धेरै ३६ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने स्टान्डर्ड चाटर्ड बैंकले ३ अर्ब ७ करोड रुपैयाँ लगानी गरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३२ अर्ब १ करोड, ग्लोबल आइएमई बैंकले २७ अर्ब ५३ करोड र एनएमबि बैंकले २६ अर्ब ८ करोड रुपैयाँ उर्जा क्षेत्रमा लगानी गरेका छन्।

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, माछापुच्छ्रे बैंक र नेपाल बैंकको उर्जा क्षेत्रमा १५ अर्ब रुपैयाँ कम लगानी गरेका छन्।

जलविद्युत् बाहेक कृषि र लघु, घरेलु, साना एवम् मझौला उद्यमलाई पनि प्राथमिकताको क्षेत्रमा राखिएको छ।

चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ११ प्रतिशत र लघु, घरेलु, साना एवम मझौला उद्यम क्षेत्रमा न्यूनतम ११ प्रतिशत लगानी गर्नुपर्नेछ। बैंकहरूले २०८४ असारसम्म प्राथमिकताको क्षेत्रमा कुल कर्जाको ४० प्रतिशत प्रवाह गर्नुपर्नेछ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट नेपाल ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता हुँदा उत्पादन बढाउने यस क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न भनेको बताउँछन्।

‘जलविद्युत्को नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै छ। त्यसकारण बैंकिङ क्षेत्रलाई प्रचुर संभावनाको क्षेत्रमा भएकाले लगानी गर्न भनेको हो,’ उनले भने, ‘उर्जा उत्पादन बढ्दा त्यसलाई निर्यात पनि गर्न सकिन्छ। भारत, बंगलादेश लगायतका देशहरूमा माग पनि छ।’

निर्यात बढाउन सके भारतसँगको व्यापार घाटा घटाउन सहयोग पुग्ने उनको भनाइ छ।

‘राष्ट्र बैंकले बैंकहरूलाई कुल कर्जाको केही प्रतिशत उर्जा क्षेत्रमा लगानी गर्न निर्देशन दिएको छ,’ उनले भने, ‘बैंकहरूबाट उर्जा क्षेत्रमा जाने लगानीले उत्पादन बढ्न गइ जीडीपी बढाउन, रोजगारी बढाउन र हाम्रो रिर्सोसेजको युटिलाइजेसन हुने र निर्माण क्षेत्रमा समेत टेवा पुग्छ।’

बैंकहरूलाई पनि दीर्घकालिन लगानीको अवसर प्राप्त हुने भट्टको भनाइ छ।

जलविद्युत् क्षेत्रमा लगानी

बैंकलगानी (रु. १० लाखमा)
एनएमबि२६,०८५.८८
नबिल३१,९०८.८६
कुमारी३६,४२७.९३
नेपाल बैंक१२,८४४.४८
कृषि विकास बैंक७,०६५.३९
प्रभु२०,५१९.८२
सानिमा१९,८६२.४३
प्राइम कमर्सियल२१,२७३.८४
लक्ष्मी सनराइज२३,९८८.८५
एनआइसी एसिया२,३६५.०३
राष्ट्रिय वाणिज्य बैंक२०,५९६.५३
माछापुच्छ्रे१२,३२६.७४
ग्लोबल आइएमई२७,५३४.४८
स्ट्यान्डर्ड चार्टर्ड३,२९५.५५
नेपाल एसबिआई१०,४०४.०७
एभरेस्ट१४,६३७.९८
नेपाल इन्भेष्टमेन्ट३२,०११.६३
सिटिजन्स्१६,५२९.५४
सिद्धार्थ१६,५५०.७५
हिमालयन१५,७३०.६१
जम्मा३७१,९६०.३९