काठमाडौं। सरकारले आफूप्रति लगानीकर्ताको भरोसा बढेको दाबी गरिरहँदा तथ्यांक भने विपरीत खालको देखिएको छ। नयाँ सरकार गठन भएको दोस्रो महिना भदौमा घरजग्गा कारोबार घट्न पुगेको छ।
गत वर्षको भदौको तुलनामा चालु वर्ष सोही अवधिमा घरजग्गा किनबेच घटेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार देशभरका मालपोत कार्यालयहरुबाट भदौमा ३२ हजार ७ सय ९८ लिखत पारित भएको छ। गत वर्षको भदौमा ३५ हजार ६ सय ८६ लिखत पारित भएको थियो।
साउनको तुलनामा त घरजग्गा कारोबार २५ प्रतिशतले ओरालो लागेको छ। गत साउनमा ४३ हजार ८३५ लिखत पारित भएका भदौमा त्यो संख्या ११ हजारभन्दा धेरै घटेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेपछि सेयर बजारदेखि घरजग्गा कारोबार सबैतिर सुधार भएको दाबी गरेका थिए। नेपाल राष्ट्र बैंकले अर्थमन्त्री विष्णु पौडेलको आग्रहमा घरजग्गाका लागि प्रवाह गरिने ऋणमा लचकता अपनाएको थियो।
राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरेपनि त्यसको प्रभाव कारोबारमा देखिन सकेन।
प्रधानमन्त्री ओलीले घरजग्गा किनबेच बढेको दाबी गरिरहँदा व्यवसायीहरु ग्राहक नपाएर टुक्रे जग्गा नै बेच्न नसकेको गुनासोसहित भदौ ३० गते सिंहदरबार पुगेका थिए। उनीहरुले प्रधानमन्त्री ओलीलाई नयाँ सरकार बनेको २ महिना हुँदा पनि अवस्था सुधार हुनुको साटो झन् बिग्रेर गएको भन्दै सक्दो चाँडो सुधारको कदम चाल्न आग्रह गरेका थिए।
सामान्य अवस्थामा दसैंअघिको समयलाई व्यवसायीहरु घरजग्गा कारोबारको सिजन मान्छन्।
किनबेचमा इनरुवा अगाडि
भदौमा सबैभन्दा धेरै लिखत पारित गर्नेमा सुनसरीको इनरुवा मालपोत छ। इनरुवाबाट १ हजार ६५१ लिखत पारित भएको छ। त्यसपछि भद्रपुरबाट १ हजार २६५, जनकपुरबाट १ हजार १४८ र राजविराजबाट १ हजार १०१ लिखत पारित भएको छ। देशभरका जम्मा ४ वटा मालपोत कार्यालयबाट मात्र एक हजारभन्दा बढी लिखत पारित भएको तथ्यांक छ।
काठमाडौं उपत्यकाको हकमा सबैभन्दा बढी लिखत पारित भक्तपुर मालपोतबाट भएको छ। भदौमा भक्तपुरबाट ७९६ लिखत पारित भएको हो। भक्तपुरपछि लगनखेल मालपोतबाट ७६२, कलंकीबाट ६८६, चाबहिलबाट ४९८, साँखुबाट ३८१, मनमैजुबाट २१७, डिल्लीबजारबाट १७९ र टोखाबाट १२९ लिखत पारित भएको विभागले जनाएको छ।
गत वर्ष भदौमा पनि सबैभन्दा बढी घरजग्गा किनबेच इनरुवामै भएको थियो। त्यतिबेला इनरुवामा १ हजार ८७१ लिखत पारित भएको थियो। त्यसपछि जनकपुर मालपोतबाट १ हजार ४०९, भद्रपुरबाट १ हजार ३९९, बेलबारीबाट १ हजार ३२१, नेपालगञ्जबाट १ हजार ११८ र राजविराजबाट १ हजार ८८ लिखत पारित भएको थियो।
राजस्वमा लगनखेल पहिलो
घरजग्गा किनबेचबाट उठ्ने राजस्व भने पोहोर भदौको तुलनामा बढेको छ। गत वर्ष भदौमा ३ अर्ब रुपैयाँ राजस्व संकलन भएकामा यसपालि ३ अर्ब ६९ करोड रुपैयाँ राजस्व उठेको छ। तर, साउनको तुलनामा भने कम हो। साउनमा देशभरका मालपोत कार्यालयले घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड राजस्व उठाएका थिए।
सबैभन्दा बढी राजस्व उठाउने मालपोतमा लगनखेल छ। लगनखेलले ३३ करोड २४ लाख रुपैयाँ उठाएको विभागको तथ्यांक छ। त्यसपछि डिल्लीबजारले ३१ करोड २२ लाख, चाबहिलले २९ करोड ६६ लाख, कलंकीले २९ करोड २९ करोड २८ लाख र भक्तपुरले २६ लाख ७१ लाख रुपैयाँ उठाएका छन्।
राजस्व धेरै उठाउने शीर्ष पाँचमा काठमाडौं उपत्यकाभित्रकै मालपोत रहँदा बाहिरबाट कास्कीले १४ करोड १५ लाख र इनरुवाले १० करोड ९४ लाख रुपैयाँ राजस्व उठाएका छन्। अरु मालपोतले भने १० करोड कटाउन सकेका छैनन्।