अन्नपूर्ण होटलमा भारतको आईटीसी वेलकम ब्राण्ड आउने, होटलमा मात्रै साढे ६ अर्ब लगानी



वसन्तराज उप्रेती
२०८१ भदौ ३१ गते १२:४० | Sep 16, 2024
अन्नपूर्ण होटलमा भारतको आईटीसी वेलकम ब्राण्ड आउने, होटलमा मात्रै साढे ६ अर्ब लगानी

काठमाडौं। पाँच महिनाअघि भाटभटेनी र लिटिल एन्जल्स समूहले खरिद गरेको होटल डेला अन्नपूर्णमा भारतीय प्रिमियम ब्राण्ड आइटीसी वेलकम ब्राण्ड ल्याइने भएको छ।

Tata
GBIME
Zonsen

साढे ६ अर्ब लगानीमा निर्माण हुन लागेको यो होटलमा वेलकम ब्राण्ड ल्याउन दुई पक्षबीच सम्झौता भएको छ। अन्नपूर्ण स्क्वायरका नाममा संचालनमा आउने होटलको निर्माण ६ महिनापछि सुरु गरिनेछ।

‘हामीले भारतीय व्यवस्थापन कम्पनी आईटीसी अन्तर्गत वेलकम ब्राण्ड ल्याउने सम्झौता गरेका छौं। काठमाडौंको ‘मोस्ट ह्यापनिङ प्लेस’को अवधारणामा होटल सञ्चालनमा ल्याउने योजना छ,’ लिटिल एन्जल्स समूहका अध्यक्ष उमेश श्रेष्ठले बिजमाण्डूसँग भने, ‘अहिले डिजाइनको काम अन्तिम चरणमा छ।’ उनका अनुसार डिजाइनको काम भारतकै राम्रो आर्किटेक्चर कम्पनीले गरिरहेको छ।

होटलमा ३३० कोठा हुनेछन्। ४० कोठा अपार्टमेन्ट हुनेछ। होटल परिसरमा ४०० स्क्वायर फिट क्षेत्रफलमा बिजनेस कम्प्लेक्स बन्नेछ। जसमा भाटभटेनीदेखि विभिन्न ब्राण्डेड सपिङ मल र फुडकोर्ट रहनेछन्।

‘ओपन स्पेस धेरै राख्नेछौं। आउँदो ४० वर्षसम्म पनि पार्किङको अभाव नहुने किसिमले डिजाइन गरेका छौं,’ श्रेष्ठले भने। अन्नपूर्ण होटल बन्द भएपछि अहिले त्यहाँ ‘पेड पार्किङ’ चलिरहेको छ। दरबारमार्ग क्षेत्रमा पार्किङ जोन हटाएपछि अन्नपूर्णको पार्किङको व्यापार राम्रो छ। त्यही व्यापारलाई हेरेर होटलभित्र सुविधा सम्पन्न पार्किङ क्षेत्र निर्माण गर्न लागिएको हो।

अफिस कम्प्लेक्सका लागि ४०० स्क्वायर फिट क्षेत्रफल छुट्टाइएको छ। होटलमा १ हजार, २ हजार र ३ हजार मानिस अटाउने क्षमताका तीनवटा बैंक्विट हल निर्माण गरिनेछ। २५ तल्लाको संरचनासहितको होटलको अन्तिम डिजाइन अबको ४ महिनामा तयार हुनेछ।

होटल कुल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा तयार हुनेछ।

‘हामी अब छिट्‍टै पुरानो संरचना भत्काउने प्रक्रियामा जान्छौं। नक्सा पाससँगै माटो परीक्षण गरेर ६ महिनाभित्र निर्माण कार्य सुरु गर्ने योजना छ,’ श्रेष्ठले भने, ‘सबै काम योजना अनुसार भएको अवस्थामा ३ वर्षभित्र होटल सञ्चालनमा आउनेछ।’

उनका अनुसार होटलमा क्यासिनो पनि सञ्चालन गर्ने योजना छ।        

लक्जरी प्रिमियम ब्राण्ड आईटीसी

सन् १९७५ मा स्थापना भएको आईटीसी होटल्स भारतको लक्जरी होटल अन्तर्गत प्रिमियम ब्राण्ड हो। भारतीय आतिथ्यता क्षेत्रको पर्याय बन्दै आएको यो अन्तर्राष्ट्रिय चेन स्थानीय विलासी अवधारणामा छ।

यो कम्पनीले मेरियोटसँग पनि सहकार्य गरेर भारतमा ‘द लक्जरी कलेक्सन’ ब्राण्ड संचालनमा ल्याइसकेको छ। आईटीसी अन्तर्गत भारत र भारत बाहिरका विभिन्न मुलुकमा १३० वटा भन्दा होटल संचालनमा छन्।

यस अन्तर्गत आईटीसी, मेमेन्टस, वेलकम, स्तोराइ, फर्चुन र वेलकम हेरिटेज गरी कुल ६ ब्राण्ड छन्। होटल अन्नपूर्ण स्क्वायरले ल्याउन लागेको ब्राण्ड वेलकम होटल हो।