काठमाडौं। सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (ईफाड)बाट करिब ९ अर्ब ४५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ।
सरकारले रिजिलेन्ज हाइ भ्यालु एग्रिकल्चरल प्रोग्रामका लागि ५३.४ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिने भएको हो।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले ऋण सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ।
यस्तै विद्युत ट्रान्समिसन तथा वितरण आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी)बाट अनुदान तथा सहुलियतपूर्ण ऋण लिइने भएको छ।
दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि एडीबीबाट अनुदान तथा सहुलियतपूर्ण ऋण लिन मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ।