काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताएका छन्।
नेपाल उद्योग परिसंघले काठमाडौंमा गरेको ‘नेपाल पूर्वाधार सम्मेलन’लाई सम्बोधन गर्दै उनले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान सरकार तत्पर रहेको बताए।
‘पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष हो। यस तथ्यलाई मनन् गर्दै हामीले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘यस प्रयासमा तीनै तहका सरकारसहित सबैको हातोमालो र सकारात्मक साथको अपेक्षा गरेका छौं।’