काठमाडौं। पोहोर भदौ/असोजमा वाणिज्य बैंकहरुले साधारण बचतमा ६ प्रतिशत र मुद्दती निक्षेपमा साढे १० प्रतिशत ब्याज पुर्याए। ब्याजदर बढाएर त्यसबेला बैंकहरुले निक्षेप खोसाखोस गरे।
ब्याजदर बढाउन प्रतिस्पर्धा चले पनि कर्जा बढ्न नसकेपछि बैंकहरु पुनः ब्याजदर घटाउन बाध्य भए। निरन्तर घटाउँदै आएको मुद्दती निक्षेपको अधिकतम ब्याजदर यसपालि भदौमा साढे ६ प्रतिशतमा झरको छ।
३ देखि ६ महिना अवधिको मुद्दतीको ब्याजदर अहिले पोहोरको साधारण बचतको भन्दा तल अर्थात् औसतमा ४ प्रतिशत छ। साथै, ६ महिनादेखि १ वर्षसम्मको मुद्दतीको ब्याजदर त अहिले ५ प्रतिशत हाराहारीमा झरेको छ।
घट्दो ब्याजदर बैंकहरुको निक्षेपको कम्पोजिसन नै फेरिन थालेको छ। ब्याजदर निरन्तर घटिरहेका बेला निक्षेपकर्ताले कम ब्याज पाइने छोटो अवधिको मुद्दतीमा पैसा राख्न थालेका छन्। निक्षेपकर्ताले अहिले ६ महिनादेखि १ वर्ष अवधिको मुद्दतीमा पैसा राख्न थालेका हुन्।
गत जेठमा वाणिज्य बैंकहरुमा ६ महिनादेखि १ वर्ष अवधिको मुद्दतीमा ८ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप थियो। असार मसान्तमा आइपुग्दा २ खर्ब ५ अर्बले बढेर १० खर्ब ३९ अर्ब रुपैयाँ पुग्यो।
निक्षेपकर्ताले ३ देखि ६ महिना, ६ महिनादेखि १ वर्ष, १ देखि २ वर्ष र २ वर्ष भन्दा बढी अवधिका लागि मुद्दती निक्षेप लिने गरेका छन्। छोटो अवधिको निक्षेपको ब्याजदर कम हुन्छ भने लामो अवधिको मुद्दतीमा बढी ब्याज पाइन्छ।
निक्षेपकर्तालेे कम ब्याज पाइने हुँदा-हुँदै पनि किन छोटो अवधिको निक्षेपमा पैसा राखिरहेका हुन् त?
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी केही समयमा ब्याजदर बढ्ने विश्वासमा निक्षेपकर्ताले अहिले लामो अवधिको भन्दा छोटो अवधिको मुद्दती रोजेको बताउँछन्।
‘ब्याजदर घटेका बेला लामो अवधिको मुद्दतीमा निक्षेप राख्दा पुनः ब्याजदर बढ्यो भने त्यो परिवर्तन गर्न सकिंदैन,’ उनले भने, ‘तत्कालै ब्याजदर बढ्यो भने लस हुन्छ भनेर निक्षेपकर्ताले ब्याजदर बढ्ने अपेक्षासहित छोटो अवधिको मुद्दतीमा पैसा राख्न थालेका हुन्।’
लामो अवधिका लागि निक्षेप राख्दा बीचमा ब्याजदर बढ्ने स्थिति आयो भने त्यसबाट लाभ पाउन सकिंदैन। त्यही कारण निक्षेपकर्ताहरुले अहिले छोटो अवधिको मुद्दतीलाई रोजिरहेका हुन्।
एभरेष्ट बैंकका सीइओ सुदेश खालिङका अनुसार छोटो अवधिको मुद्दतीमा पैसा राख्ने व्यक्तिभन्दा पनि संस्थागत लगानीकर्ता धेरै छन्।
उनले ब्याजदर घट्दै गइरहेका कारण अहिले लामोभन्दा छोटो अवधिको मुद्दतीमा पैसा राख्न क्रम बढेको बताए। ‘निक्षेपकर्ताले अहिलेको ब्याजदर एकदमै कम भएको भन्दै लामो अवधिको मुद्दतीमा पैसा राख्न रुचि देखाइरहेका छैनन्। ब्याजदर बढ्ने अपेक्षामा छोटो अवधिको मुद्दतीमा राखिरहेका छन्,’ उनले भने।
संस्थागत लगानीकर्ताले ६ महिनाभन्दा कम अवधिका लागि मुद्दतीमा लगानी गर्न पाउँदैनन्। त्यसैले उनीहरुले अहिले ६ महिनादेखि १ वर्ष अवधिको मुद्दतीलाई प्राथमिकता दिएका छन्।
‘संस्थागत लगानीकर्ताले ६ महिनाभन्दा कम अवधिका लागि मुद्दतीमा लगानी गर्न नपाउने व्यवस्था छ,’ सीइओ खालिङले भने, ‘त्यसकारण उनीहरुले ६ महिनादेखि १ वर्ष अवधिका लागि मुद्दतीमा लगानी गरिरहेका छन्। लामो अवधिको मुद्दतीमा उनीहरुको ध्यान देखिंदैन।’
निक्षेपकर्ताले छोटो अवधिको मुद्दतीमा पैसा राख्दा बैंकहरुको लागत कम हुन्छ। र, त्यसले कर्जाको ब्याजदर कम भइ ऋण सस्तो हुन्छ।
छोटो अवधिको निक्षेप बढ्दा बैंकहरुको लागत घट्ने भए पनि यसले दीर्घकालीन रुपमा भने फाइदा नहुने खालिङले बताए। ‘बैंकहरुलाई ब्याजदर घटेको बेलामा लामो अवधिको मुद्दती निक्षेपले फाइदा हुन्छ। उद्योग र परियोजनामा लामो समयका लागि कर्जा दिन लामो समयको मुद्दती निक्षेप नभए बैंकहरुलाई योजना बनाउन गाह्रो हुन्छ,’ उनले भने।
कृषि विकास बैंकका सूचना अधिकारी हिमलाल पौड्याल व्यावसाय गर्न वातावरण नसुध्रिएका कारण निक्षेपकर्ताले अहिले छोटो अवधिको मुद्दतीमा पैसा राखिरहेको बताए।
‘निक्षेपकर्ताले जहिले पनि बढी ब्याजदरको अपेक्षा गरेका हुन्छन्। अहिले ब्याजदर कम छ। यस्तो अवस्थामा निक्षेपकर्ताले पैसा राख्ने छोटो अवधिको मुद्दतीमा नै हो,’ उनले भने, ‘व्यावसायिक वातावरण सुध्रिएर पछि ब्याजदर बढ्ने अपेक्षाले लामो अवधिको मुद्दतीमा पैसा नराखेका हुन्।’