काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता महत्वपूर्ण हुने बताएका छन्।
महासंघसँगै तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल अमेरिका व्यापार र लगानी अवसर र चुनौति विषयक कार्यक्रम उनले भन्सार रहित सुविधा निरन्तरताको विषय उठान गरेका हुन्।
अमेरिकाले सन २०१६ मा भुकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्सार रहित सुविधा आगामी वर्ष सकिन लागेको जानकारी उनले कार्यक्रममा दिएक थिए। त्यसैले आगामी साता आयोजना हुने व्यापार एवं लगानी सम्बन्धी सम्झौता (टिफा) परिषदको बैठक महत्वपूर्ण रहने उनको धारणा थियो। सो बैठकमा भन्सार रहित सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जिएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने उनको माग थियो।
यस्तै, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको समयमा भन्सार रहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रुपमा काम गर्नुपर्नेमा उनले जोड दिएका थिए।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझाव अनुरुप अमेरिकासँग छलफल गरिने बताएका थिए।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताएका थिए। नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले भने अहिले भन्सार सुविधाबारे अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताएका थिए।
त्यस्तै, नेपाल-अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साख:ले निर्यात बढाउनुका साथसाथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने मत राखेका थिए। निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर पाण्डेले भने अमेरिका तर्फको निर्यातको मात्रा बढाउन आवश्यक भएकोमा जोड दिएका थिए।
नेपाल र अमेरिकाबीच सन २०११ मा टिफा सम्झौता भएको थियो। यो सम्झौताको खाका भएको हुँदा द्विपक्षीय लगानी र व्यापारका लागि सम्झौत गर्नका लागि यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो। तर हालसम्म कुनै उपलब्धि हुन सकेको छैन। हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घटन सक्ने भन्दै सरोकारवालाहरु चिन्तित छन्।