काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र इथानोलको मूल्य निर्धारण गर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रण गरेर पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देष्यसहित मूल्य निर्धारणको तयारी गरिरहेको बताए।
‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ। अब मूल्य निर्धारण गर्न बाँकी छ। यो हामी एक महिनाभित्र टुंग्याउछौं’ उनले भने।
इथानोल मिश्रणपछि दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम हुने मन्त्रालयको आकलन छ। ‘इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारी बढ्छ। त्यसैले हामी अब इथानोल प्रयोगको नीति कार्यान्वयन गर्छौं,’ मन्त्री भण्डारीले भने।
इथानोल उत्पादन र प्रयोगको नीति २०६० मै बनेको हो। तर, हालसम्म कार्यान्वयन हुन सकेको छैन। पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने बहस मन्त्रालयले चलाइरहेको छ।