काठमाडौं। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडानमा आकर्षक अफर ल्याएको छ। कम्पनीले एकतर्फी उडान टिकट खरिदमै अर्को टिकट निःशुल्क प्राप्त गर्न सक्ने जनाएको छ।
पर्यटकीय सिजन सुरु भएसँगै कम्पनीले आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आइतबारदेखि आउँदो असोज ४ गतेसम्म लागू हुने गरी यो योजना सार्वजनिक गरेको प्रवक्ता अनिल मानन्धरले बताए।
‘अब बिस्तारै पर्यटकीय सिजन सुरु भएको छ। पोखरातर्फ आन्तरिक पर्यटन प्रवर्धनसँगै यात्रु केन्द्रित आकर्षक योजना ल्याएका हौँ,’ प्रवक्ता मानन्धरले भने, ‘यो योजनाले हवाईसँगै पर्यटन क्षेत्रमा विशेष टेवा पुग्ने आशा लिएका छौँ।’
उनका अनुसार श्रीले हाल यो गन्तब्यमा दैनिक ३ वटा व्यावसायिक उडान सेवा दिँदै आएको छ। निकट भविष्यमा यो रुटमा उडान संख्या थप विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।
पछिल्लो समय काठमाडौं-पोखरा भाडादर ४ हजार ४०० रुपैयाँ रहेको छ।
हाल कम्पनीले दुईवटा सीआरजे-२००, दुईवटा सीआरजे-७०० र ७ वटा क्यु-४०० गरी कुल ११ वटा जहाजमार्फत मुलुकको विभिन्न सुगम गन्तव्यमा नियमित उडान सेवा दिँदै आएको छ।