मोरङको कटहरीमा आगामी साता कृषि एक्स्पो, आधुनिक खेती प्रवर्धन गर्न प्रविधि प्रदर्शनी



बिजमाण्डू
२०८१ भदौ २२ गते १६:४० | Sep 7, 2024
मोरङको कटहरीमा आगामी साता कृषि एक्स्पो, आधुनिक खेती प्रवर्धन गर्न प्रविधि प्रदर्शनी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत सोमबार कृषि एक्स्पोमा आतिथ्यताका लागि निम्तो गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत । साथमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की । तस्वीर : नेपाल उद्योग वाणिज्य महासंघ कोशी

विराटनगर। आधुनिक तरिकाको खेतीमा जोड दिन मोरङको कटहरीमा चार दिने कृषि मेला आयोजना गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अगुवाइमा कृषि एक्स्पो-२०८१ हुने भएको हो।

Tata
GBIME
Zonsen

विराटनगरसित जोडिएको कटहरी गाउँपालिकास्थित कृषि थोकबजारमा यही भदौ २७ देखि ३० गतेसम्म मेला संचालन हुने महासंघले जनाएको छ। कार्यक्रमका सहयोगीमा कोशी प्रदेश सरकार, स्विस सरकारअन्तर्गतको सहज कार्यक्रम र नेउवा महासंघ केन्द्रीय समिति छन्।

महासंघ कोशीका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार मेलाले आधुनिक खेतीलाई प्रोत्साहन गर्न कृषि प्रविधि र उपकरणका नवीनतम प्रगति प्रदर्शन गर्ने तथा किसान, अनुसन्धानकर्ता र नीतिनिर्माताबीच विचार आदानप्रदान एवम् उत्कृष्ट अभ्यास सार्वजनिक गर्न साझा थलोको निर्माण गर्ने प्रयोजन राखेको छ।

त्यस्तै कृषिमा लगानी र उद्यमशीलताका अवसर देखाउँदै ग्रामीण क्षेत्रमा आर्थिक विकासलाई प्रवर्धन गर्ने र दिगो खेतीका अभ्यास, वातावरण संरक्षण र पशुकल्याणका विषयमा शिक्षित गर्ने उद्देश्य पनि छ।

कार्यकारी निर्देशक भण्डारीले मेलामा १३० वटा स्टल हुने जानकारी दिए। जसमध्ये भारतको विहारबाट २० वटा हुनेछन्। मेलामा विहार सरकार कृषि विभाग अन्तर्गतको वीज निगम लिमिटेडबाट कृषि ज्ञान र प्रविधिको हस्तान्तरणका लागि ७ विज्ञ सहभागी हुनेछन्। साथै विहारको भोला शास्त्री एग्रो युनिभर्सिटी एन्ड रिसर्च सेन्टरबाट पनि ५ विज्ञले भाग लिनेछन्।

भारतबाट आएका विज्ञले आँप, लिच्ची र मखाना खेतीका बारेमा नेपालका कृषक र अन्य सरोकारवालालाई ज्ञान र सीपको हस्तान्तरण गर्नेछन्।

मेलामा वीज निगम र भोला शास्त्री दुवैको स्टल रहने भण्डारीले जनाए। त्यस्तै भारतको ओडिसा र पश्चिम बंगाल राज्यबाट जैविक मलसम्बन्धी सीप, प्रविधि तथा ज्ञानको हस्तान्तरणका लागि २/२ विज्ञले भाग लिनेछन्।

यसबाहेक नेपाल सरकार र कोशी प्रदेश सरकारबाट गरी १० विज्ञ पनि सहभागी हुनेछन्। एक्स्पोमा कृषि औजार तथा यन्त्र, उन्नत तथा स्थानीय बिउबिजन, कीटनाशक तथा मलखाद, व्यावसायिक प्रविधि, कृषि उत्पादन तथा सेवा, उन्नत जातका पशुपन्छी, भेटनरी औषधि तथा सेवा, खाद्य वस्तु उत्पादक लगायतको प्रदर्शनी गरिनेछ।

जिल्ला बाहिरबाट मेलाको अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था गरिने भण्डारीले बताए। प्रवेश निःशुल्क रहेको मेलालाई कृषक, व्यवसायी र सर्वसाधारण गरी ४ दिनमा एक लाख जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ।