उपल्लो मुस्ताङ : यात्रा सहज बन्दै जाँदा विदेशीभन्दा धेरै पुग्छन् आन्तरिक पर्यटक



बिजमाण्डू
२०८१ भदौ २२ गते १५:५० | Sep 7, 2024
उपल्लो मुस्ताङ : यात्रा सहज बन्दै जाँदा विदेशीभन्दा धेरै पुग्छन् आन्तरिक पर्यटक
मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको झोङ गुफा । पहाडमा रहेको ६ तले झोङ गुफामा ५० वटाभन्दा बढी कोठाहरु छन्। तस्बिरः सन्तोष गौतम/रासस

म्याग्दी। पोखराबाट पर्वत, बागलुङ र म्याग्दी छिचोलेपछि पुगिने मुस्ताङ पर्यटकका लागि मुलुकका अन्य जिल्लाका तुलनामा नौलो अझै नौलो छ। आन्तरिक पर्यटकले घुम्न रमाउने यो जिल्लामा मुक्तिनाथ दर्शनका लागि मात्रै नभएर नौलो प्रकारको भूगोल हेर्नकै लागि पुग्ने जमात धेरै छ।

Tata
GBIME
Zonsen

अब मुस्ताङ यात्रा अझ सहज भएको छ। सडक निर्माणाधीन रहँदा पनि मुस्ताङ आउजाउ गर्नेको लर्को असोज-कात्तिकमा धेरै हुन्छ। आन्तरिक पर्यटक अब जोमसोम, कागबेनी र मुक्तिनाथ पनि छिचोलेर उपल्लो मुस्ताङ जाने क्रम बढेको छ। मुस्ताङका अब स्याउ टिप्ने याम सुरु हुँदैछ। भेडा-च्यांग्रा दसैंका लागि पोखरा झार्न व्यापारी जोमसोम पुग्ने क्रम सुरु भएको छ।

वर्षा क्रमिक घटेर विस्तारै चिसो सुरु हुँदा मुस्ताङ घुम्न जाने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। कागबेनी र मुक्तिनाथ क्षेत्रभन्दा माथिल्लो भेगमा पर्यटक बाक्लै देखिन थालेका छन्।

पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ। लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोष्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलको महत्वका विषयमा जानकारीमूलक सूचनापाटी तथा वन्यजन्तुको संरक्षणबारे सन्देशमूलक होडिङबोर्ड राखेको हो।

एक्याप लोमान्थाङका रेञ्जर मदन पौडेलका अनुसार बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको ४८ स्थानमा साइन पोष्टिङ, सूचना पाटी र होडिङ बोर्ड राखिएको छ। ‘पर्यटकहरुले सङ्केत चिह्न हेरेर आफ्नो गन्तव्य पहिचान गरेर यात्रा गर्न सहज होस्, नहराउन र दुःख नपाउन भनेर साइनपोष्टिङ राखिएको हो,’ उनले भने, ‘गुफा, ताल, गुम्बा, दरबारलगायत ऐतिहासिक, प्राकृतिक, धार्मिक र पर्यटकीयस्थलको महत्त्व र विशेषता बुझ्नका लागि नक्सासहितको सूचनापाटी राखेका छौं।’

मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थी । फाइल तस्वीर : बिजमाण्डू

स्थानीयस्तरमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षण, मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गराउन सावधानी अपनाउन सन्देश प्रवाह गराउने र पर्यटकलाई जानकारी गराउने उद्देश्यले हिउँचितुवा, रातो भालु, तिब्बती अर्गेलीलगायत जनावरका बारेमा होडिङ बोर्ड राखिएको छ।

अग्ला, नाङ्गा र उजाड पहाड पार गरेर छरिएका मानव बस्ती तथा पर्यटकीय, धार्मिक र प्राकृतिकस्थल जाने क्रममा पर्यटकले बाटो बिराएर भनेको भन्दा अन्यत्र पुग्ने, घुमाउरो बाटो हिँड्नुपर्ने र दुःख पाउने समस्या न्यूनीकरणका लागि सडक र पदमार्ग छेउछाउमा ‘रेञ्जिङ पोल’ र साइनपोष्टिङ राखिएको एक्यापका प्रमुख प्रमोदराज रेग्मीले बताए।

उपल्लो मुस्ताङको दामोदरकुण्ड पुगेर फर्केका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का गणेश गुरुङले  उचाइ, गन्तव्यमा पुग्न लाग्ने दूरी, समय र त्यहाँको विशेषता उल्लेख भएको सूचनापाटी तथा साइनपोष्टिङले सहज बनाएको बताए। अझै धेरै ठाउँमा साइनपोष्टिङ, सूचनापाटी र होडिङ बोर्ड राख्नुपर्ने खाँचो उनले देखेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा समेटिएको उपल्लो मुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्डलगायत थुप्रै पर्यटकीय र धार्मिकस्थल छन्। मौलिक संस्कृति, रहनसहन, जीवनशैली र पृथक भूगोल पनि यहाँका आकर्षण हुन्।

मार्फास्थित बागवानी केन्द्रमा स्याउ । फाइल तस्वीर : बिजमाण्डू

एक्यापका अनुसार सन् २०२३ मा ३ हजार ४ हजार ८४ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ भ्रमणमा पुगेको तथ्यांक छ। विदेशीका तुलनामा पछिल्लो समय उपल्लो मुस्ताङमा आन्तरिक पर्यटकको आगमन बढेको छ।

अर्धनिषेधित क्षेत्र घोषणा भएको लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको पूरै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले १० दिनका लागि पाँच सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ।

१० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० रुपैयाँका दरले शुल्क तिर्नुपर्ने नियम छ। निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन अपेक्षित रुपमा बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासीनर्बु गुरुङले बताए।