काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइज्ड रिक्वायरमेन्ट (आरएनपी एआर) लागू गर्ने गृहकार्य अगाडि बढाएको छ।
मन्त्रिपरिषद्ले आरएनपी एआर रुट तयार गरी लागू गर्ने कार्ययोजना स्वीकृत गरेपछि क्यानले गृहकार्य अगाडि बढाएको हो।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आरएनपी एआर प्रणालीमा १ हजार मिटरभन्दा कम भिजिबिलिटीमा जहाज उडान/ अवतरण हुन सक्ने भन्दै लागगू गर्न गृहकार्य अगाडि बढाएको बताए।
‘अहिले भीओआरडीएमई सिस्टम अनुसार उडान भइरहेको छ। यसमा न्यूनतम १८०० मिटर भिजिबिलिटी आवश्यक पर्छ। आउँछ। आइएलएस भएको भए ५०० मिटर भिजिलिटीमै उडान/अवतरण गर्न सकिन्थ्यो। मन्त्रिपरिषद्ले आरएनपी एआर लागू गर्ने कार्ययोजना स्वीकृत गरिसकेकाले अब हामी त्यो कार्यान्वयन गर्ने गृहकार्यमा छौं,’ उनले भने।
मन्त्रिपरिषद्को साउन २८ गते बसेको बैठकले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धमा आरएनपी एआर रुट तयार गरी लागू गर्ने गरी कार्ययोजना स्वीकृत गरेको थियो। कार्ययोजना अनुसार क्यानले १५ दिनभित्र आरएनपी एआर लागू गर्नुपर्नेछ।
भारतबाट इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस)का लागि स्वीकृति नदिएपछि क्यानले यसअघि नै आरएनपी एआर प्रणाली लागू गर्न चाहेको थियो।
भुलका अनुसार स्याटलाइट र एयरक्राफ्ट बेस्ड आरएनपी एआर प्रणाली ग्राउण्ड बेस सिस्टमको तुलनामा प्रभावकारी हुनेछ।
‘एउटा जहाजबाट परीक्षण गरेर सफल भएपछि आरएनपी एआर लागू गर्नका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्ने तयारी छ,’ उनले भने, ‘विभिन्न सिरिजका जहाजको प्रकृति र पाइलट क्षमता फरक फरक हुन्छ। आरएनपी एआर लागू गर्न पाइलटमा त्यही अनुसारको तालिम चाहिन्छ। जहाजमा पनि आवश्यक उपकरण हुनुपर्छ।’
यो प्रणाली लागू भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क, ख, ग र घ वर्गका जहाजले ८०० मिटरभन्दा कम भिजिबिलिटीमा अवतरण गर्न सक्ने क्यानका अधिकारीहरुको भनाइ छ। क र ख वर्गमा ट्वीनअटर, ग मा एटीआर-७२ र घ वर्गमा एयरबस ३२० सिरिजको जहाज पर्छन्।