काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल दुई प्रदेशमा मात्र सीमित क्यान्सरको उपचार सातै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको छ।
क्यान्सरको उपचार सेवा विस्तार सम्बन्धमा मन्त्रालयले कार्यविधि नै बनाएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार कार्यविधि स्वीकृत गरेका छन्।
अहिलेसम्म चितवनको भरतपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल र नेपालगञ्जको सुशील कोइराला क्यान्सर अस्पतालमा मात्र सीमित छ।
अब कोशी प्रदेश अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पनि क्यान्सरको विशेषज्ञ सेवा उपलब्ध हुनेछ।
कार्यविधि अनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेश अस्पताल र नारायणी अस्पताल तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा विस्तार गर्ने निर्णयका लागि अग्रसरता लिएको भन्दै मन्त्री पौडेललाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन्।