काठमाडौं। अटो व्यवसायीहरूको सबैभन्दा ठूलो मेला नाडा अटो शोको तयारी पूरा भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बुधबार पत्रकार सम्मेलन गरी मेलाको तयारी पूरा भएको जानकारी दिएको हो।
नाडाले अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न भन्दै मेला गर्न लागेको हो। मेला भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।
मेलामा २४ वटा चार पाङ्ग्रे ब्रान्ड, १९ वटा दुई पाङ्ग्रे ब्रान्ड र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्ड प्रदर्शन गरिने नाडा अटो शोका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी दिए।
उनका अनुसार ३३ कम्पनीका लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट पनि मेलामा रहनेछन्। मेलामा ७ वटा वित्तीय संस्थाले स्टल राख्ने तय भएको छ। ९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्ने बरालले बताए।
अटो शो यसपालि विगतमा भन्दा भव्य हुने नाडाले बताएको छ। अटो शोमा अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि प्रदर्शन हुने र त्यसले अर्थतन्त्रमा वृद्धि गर्न मञ्चको रुपमा काम गर्ने नाडाका अध्यक्ष करण चौधरीले बताए। उनले मेलाले अटोमोबाइल क्षेत्रलाई पुनर्जीवित गर्ने विश्वास लिएको बताए।
‘यस वर्षको प्रदर्शनीले आर्थिक गतिविधिलाई बढावा मात्र दिने छैन, राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अटोमोबाइल समुदायको मनोबललाई पनि उचाल्ने विश्वास छ,’ उनले भने।
उनले अटो क्षेत्रलाई सरकारको सहयोग आवश्यक रहेको बताए। ‘सरकारले अटो सेक्टरलाई निरुत्साहित गर्दै आएको छ। व्यवसायीहरूका लागि यो रोजीरोटी हो। सरकारका लागि पनि कर उठाउने स्रोत हो,’ उनले भने, ‘त्यसैले अटो क्षेत्रलाई सरकारको सहयोग आवश्यक छ।’ उनले अटो शोका लागि नयाँ प्रदर्शनीस्थल आवश्यक भएको पनि बताए।
मेला अवलोकन गर्न चाहनेले खल्ती एपमार्फत अग्रिम रूपमा टिकट खरिद गर्न सक्नेछन्। अग्रिम टिकट खरिदकर्ताका लागि भदौ १० सम्मका लागि २०% क्यासब्याकको व्यवस्था गरिएको नाडाले जनाएको छ। मेला करिब ७५ हजार मानिसले अवलोकन गर्ने नाडाको अनुमान छ।
मेलामा टाटा डट ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स सह-प्रायोजकका रुपमा रहनेछन्।