काठमाडौं। कोकाकोला लगायतका पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल बालाजुको नाफा खुम्चिएको छ। बोटलर्स नेपाल (तराई) को नाफा ४३.५१ प्रतिशत र बोटलर्स नेपालको ५९.५२ प्रतिशतले घटेको हो।
बोटलर्स नेपाल तराईले गत आर्थिक वर्ष २०८०/८१ मा ३६ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको नाफा ६३ करोड ८८ लाख रुपैयाँ थियो।
कम्पनीले उत्पादन बेचेर गत आर्थिक वर्षमा ८ अर्ब ७५ करोड आम्दानी गरेको छ भने उत्पादन खर्च ६ अर्ब ५७ करोड रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रति सेयर आम्दानी पनि घटेर २९८ रुपैयाँ भएको छ। अघिल्लो आर्थिक वर्ष ५२८ रुपैयाँ थियो।
त्यस्तै बोटलर्स नेपालले गत आर्थिक वर्ष ३९ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष नाफा ९७ करोड ८१ लाख रुपैयाँ थियो।
कम्पनीले गत आर्थिक वर्षमा उत्पादन बेचेर ११ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको थियो। उत्पादन लागत ८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ छ भने कम्पनीको जगेडा कोषमा ६ अर्ब ३८ लाख रुपैयाँ छ। कम्पनीको प्रति सेयर आम्दानी १८६ रुपैयाँ भएको छ। अघिल्लो आर्थिक वर्ष ४७२ रुपैयाँ थियो।