काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार झाविरुद्ध ठगी, लिखित किर्ते, राज्य विरुद्ध र संगठित अपराधमा पूरक अभियोगपत्र दायर गरेको हो।
असार १४ गते झालाई प्रहरीले पक्राउ गरेको थियो। शरणार्थी प्रकरणमा हाई प्रोफाइलको संलग्नता खुल्ने र राजनीतिक कनेक्सनको अपेक्षा गरिए पनि अनुसन्धानमा कुनै प्रमाण देखिएन। झा प्रहरीसँघको बयानमा खासै खुल्न चाहेनन्।
पक्राउ परेको केही दिन उनले शारिरिक समस्या देखाए। त्यसपछिको बयानमा पनि उनले स्वास्थ्यमा समस्या भएको बताएका छन्। उनले बयानमा भनेका छन्,’मेरो शारीरिक अवस्थामा रुघाखोकी, ज्वरो आइ टाउको दुखिरहेको छ, साथै आँखामा समस्या भएको छ। पढ्न लेख्न कठिनाई भएको छ। मानसिक अवस्था ठिक छ। बयान कार्य गर्न सक्छु।’
उनले आफूलाई प्रहरी हिरासतमा कुनै यातना नदिएको बताएका छन्। प्रहरीले उनीसँग बरामद गरेको मोबाइल एक वर्षअघि किनेको खुलेको छ। जबकी शरणार्थी प्रकरणको पहिलो चरणको मुद्दा बुझाएको एक वर्षपछि मात्र झा समातिएका हुन्।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा जानकारी नभएको बताए। ‘म कुनै राजनैतिक पार्टीमा आबद्ध व्यक्ति होइन,’ उनले भनेका छन्। पूर्व सचिव टेकनारायण पाण्डेसँग चिनजान सम्पर्क समेत नभएको इन्कारी बयान दिएका छन्।
‘चेकको सम्बन्धमा मलाई केही जानकारी छैन। अडियोहरुमा भएको संवाद मेरो होइन। भिडियोमा देखिएको व्यक्तिहरु को को हुन् मलाई थाहा भएन। म मेरो आवाज परीक्षण गर्न म मन्जुर छु। श्यामकृष्ण श्रेष्ठलाई म चिन्दिन, निजले के बयान दिएका छन मलाई सरोकार छैन। हरिभक्त महर्जनलाई म चिन्दिन, मैले निजबाट कुनै पनि रकम लिएको छैन,’ बयानमा भने।