काठमाडौं। चर्च बोइज युनाइटेड र पारो एफसी पहिलो हाफमा बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी एएफसी च्यालेन्ज कप अन्तर्गतको खेलमा नेपाली च्याम्पियन चर्च बोइज र भुटानी च्याम्पियन पारो एफसी १-१ गोलको बराबरीमा रोकिएका हुन्।
अनन्त तामाङको कप्तानीमा रहेको नेपालका लागि लाकेन लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दर्शकको उत्साहजनक उपस्थिति रहेको खेलमा उनले खेलको ३८ औँ मिनेटमा गोल गरेका थिए।
तर, चर्च बोइजको अग्रता लामो समय भने टिक्न सकेन। हिलाम्य मैदानमा गोलकिपर अघि बढेको अवसरलाई सदुपयोग गर्दै भुटानी स्ट्राइकर किंगा वाङचुकले ४० औँ मिनेटमा गोल फर्काए।
आजको खेल दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता फिर्ता पाएपछिको पहिलो खेल हो। पिचको दुरावस्था, शुरक्षा, फर्डलाइट लगायत कारण देखाउँदै एसियन फुटबल फेडेरेसन एएफसीले दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता खोसेको थियो। जसका कारण नेपाली फुटबल टोलीले विश्वकप तथा एसिया कप छनोटका खेलका ‘होम गेम’ पनि विदेशी भूमिमा खेल्नु परेको थियो।
तर, राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघको पहलमा रंगशालाको मान्यता केही दिनअघि फिर्ता भएको थियो। तर, आजको खेलमा वर्षाले पनि बाधा गर्दा मैदानको अवस्था नाजुक देखिएको छ।