काठमाडौं। कोरोनाको समयमा तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ। कोरोनाका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा तेस्रो मुलुकका पर्यटकलाई नेपालका नाका हुँदै भारत जान रोकिएको थियो।
अवरोधको गाँठो फुकाएपछि अहिले नेपाल–भारतका नाकाहरुबाट पर्यटक आवागमन सहज भएको गृह मन्त्रालयले जनाएको छ। साउन पहिलो साता गृहमन्त्री रमेश लेखकले नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवबीच शिष्टाचार भेटका क्रममा नेपाली नाकाबाट भारत प्रवेश गर्न तेस्रो मुलुकका नागरिकहरुलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाउने विषयमा छलफल गरेका थिए।
भारतीय पक्षले साउनको दोस्रो सातादेखि नै अध्यागमन सेवामा गरेको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काएपछि अहिले झापादेखि कञ्चनपुरसम्मका नाकाहरुबाट पर्यटक आवागमन सहज भएको गृह मन्त्रालयले जनाएको हो।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले इलामको पशुपतिनगर नाकाबाट भारत जान भारततर्फ अध्यागमन कार्यालय नभएका कारण बाहेक भारतसित जोडिएका मुलुका अरु सबै नाकाबाट पर्यटक आवागमन सहज भइसकेको जानकारी दिए।
मन्त्री लेखकको पहलपछि अहिले झापाको काकँडभित्ता, कैलालीको मोहना, कञ्चनपुरको गड्डाचौकी, बाँकेको जमुनाहा, भैरहवाको बेलहिया, विराटनगर र वीरगंज नाका पर्यटकलाई भारततर्फ जान सजिलो भएको छ।
अध्यागमन विभागका अनुसार नाका सहज भएयता काकँडभिट्टा नाकाबाट ७८ जना तेस्रो मुलुकका पर्यटक भारततर्फ गएका छन् भने सो नाकाबाट १ सय १४ जना नेपाल भित्रिएका छन्।
त्यसैगरी कैलालीको मोहनाबाट एक जना भित्रिएका छन् भने वीरगंज नाकाबाट ३० जना बाहिरिनुका साथै ३७ जना पर्यटक नेपाल प्रवेश गरेका छन्। त्यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट ९ जना तेस्रो मुलुकका पर्यटक बाहिरिनुका साथै नाका सहज भएयता १२ जना पर्यटक भित्रिएका छन् ।
भारतीय पक्षले कोरोनाका बेला सन् २०२१ डिसेम्बर २० तारिखदेखि यहाँका नाकामा तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा अवरोध गरेको थियो।