काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका अनुसार पदमुक्त हुने राज्यमन्त्रीहरूलाई पत्राचार गरिएको छ। साथै उनीहरूलाई पदमुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ।
यही साउन २२ गते गठित मन्त्रिपरिषदमा समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरिएको कार्यालयले जनाएको छ।
मधेशमा २० सदस्यीय मन्त्रिपरिषद् गठन भएकामा भन्दै चौतर्फी विरोध भएको थियो। पार्टीका नेताहरुलाई मिलाउन ८ जना राज्यमन्त्री बनाएकोमा थप आक्रोशको आवाज उठेको थियो।
सिंह जनमत पार्टीबाट मुख्यमन्त्री भएका हुन्। जनमत पार्टीका मुख्यमन्त्री सीके राउतले भने गठबन्धनले राज्यमन्त्री नियुक्त गरेको र त्यसमा पार्टीको कुनै सहभागिता नभएको बताएका थिए। गठबन्धन गरेरै सत्तामा पुग्ने र त्यसैको विरोध गरेर जिम्मेवारीबोधबाट हटेको भन्दै त्यसपछि राउतको पनि आलोचना भएको थियो।