काठमाडौं । ग्यास उद्योगीले कुचिएका र म्याद ग्रुजिएका सिलिण्डर बजारमा नपठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आयल निगमले मंगलबार बोलाएको बिक्रेतासहितको छलफलमा उद्योगीले असुरक्षित सिलिण्डर बजारमा नपठाउने प्रतिबद्धता जनाएका हुन्।
‘कुचिएर कामै नलाग्ने सिलिण्डरमा ग्यास भरेर पठाउने गरिएको भेटिएको थियो। त्यसलाई रोक्ने प्रतिबद्धता उद्योगीबाट आएको छ,’ निगमका एक कर्मचारीले भने, ‘बिक्रेताले पनि उद्योगबाट आएका त्यस्ता सिलिण्डर उपभोक्तालाई नदिने प्रतिबद्धता जनाएका छन्।’
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बजारमा असुरक्षित सिलिण्डर गएको प्रति गम्भीर चासो व्यक्त गरेपछि उद्योगी र बिक्रेताले सो प्रतिबद्धता जनाएका हुन्। ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र थापाले उपभोक्ताप्रति जवाफदेही हुनुपर्ने बताउँदै सुरक्षित ग्यास पुर्याउन प्रतिबद्ध रहेको बताए।
निगमले चार वर्षसम्म ग्यास बोटलिङ प्लान्टको अनुगमन नगरेपछि केही उद्योगीले कामै नलाग्ने सिलिण्डरमा ग्यास भरेर पठाउन थालेका थिए।
उपत्यकामै सगरमाथा ग्यास उद्योगले असुरक्षित सिलिण्डरमा ग्यास भरेर पठाएको भेटिएको थियो। त्यसपछि निगमले काभ्रेमा रहेको उद्योगको अनुगमन गरेको थियो। अनुगमनमा १२५ वटा सिलिण्डर कामै नलाग्ने भेटिएका थिए।
असुरक्षित रुपमा ग्यास बिक्री वितरण गरेको पाइएपछि निगमले सगरमाथा ग्यासको खरीद आदेश रोक्का राखेको छ। निगमले देशभरी रहेका ग्यास बोटलिङ प्लान्टको समेत अनुगमनको निर्णय गरिसकेको छ।