उपत्यका बाहिर सहकारी प्रकरणमा थुनामा रहेकालाई काठमाडौं झिकाउँदै संसदीय समिति



बिजमाण्डू
२०८१ साउन २९ गते १२:२९ | Aug 13, 2024
उपत्यका बाहिर सहकारी प्रकरणमा थुनामा रहेकालाई काठमाडौं झिकाउँदै संसदीय समिति
सिभिल सेभिङस एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष इच्छाराज तामाङसँग समितिमा सोधपुछ गरिँदै।

काठमाडौं। सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्ध अध्ययन गर्न गठित संसदीय छानविन विशेष समितिले काठमाडौं उपत्यका बाहिर सहकारी ठगी प्रकणमा हिरासत र कारागारमा रहेका थुनुवालाई झिकाउने भएको छ।

Tata
GBIME
Zonsen

समितिले गृह मन्त्रालय मार्फत विभिन्न व्यक्तिको नाम दिएर काठमाडौं झिकाउन लागेको हो।

समिति गठन गर्दा कार्यविधिमै कारागारमा रहेका व्यक्तिलाई समितिमा झिकाउने उल्लेख थियो। जसकारण पछिल्लोसमय कारागारबाट सिंहदरबारमा रहेको समितिको कार्यालयमा उनीहरुलाई झिकाएर सोधपुछ थालिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए।

समितिले विराटनगर, पोखरा र बुटवलमा रहेका सहकारी ठगी आरोपीलाई झिकाउन लागेको हो।समितको ३६ औं बैठकसम्म आइपुग्दा विभिन्न कारागारमा रहेका १५ जना भन्दाबढी थुनुवासँग सोधपुछ भइसकेको छ।

सोमबार समितिले कान्तिपुर सेभिङस एण्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था)का अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीसँग डिल्लीबजार कारागारबाट समितिको बैठकमा ल्याई सोधपुछ गरेको थियो। त्यस्तै, सिभिल सेभिङस एण्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था)का अध्यक्ष इच्छाराज तामाङलाई पनि डिल्लीबजार कारागारबाट ल्याइएको थियो।

शिवशिखर सहकारीका अध्यक्ष केदार शर्मा र उनकी श्रीमतीसँग पनि समितले सोधपुछ गरिसकेको छ। आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी उप्रेती) सँग डिल्लीबजार कारागारबाट समितिको बैठकमा ल्याई सोधपुछ भइसकेको छ।

त्यस्तै, अन्य समस्याग्रस्त रहेका सहकारीका सञ्चालकहरुसँग पनि समितिले छलफल गरिरहेको छ। समितिले सरकारसँग सहकारी ठगीमा देश बाहिर रहेका २१ जना नाम दिएर पक्राउ गरेर ल्याउन अनुरोध गरिसकेको छ।