काठमाडौं। स्मार्ट कार्ड नेपाल प्राइभेट लिमिटेडले संचालन गरेको माई पे डिजिटल वालेटबाट अनधिकृत रुपमा रकम झिकिएको खुलेको छ। विभिन्न मितिमा वालेटको एडमिनमा पहुँच पुर्याएर साढे ३८ लाख रुपैयाँ झिकिएको प्रहरीको अनुसन्धानमा देखिएको छ।
कम्पनीको तर्फबाट नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले २५ वर्षीय नवीन श्रेष्ठ र सुश्मिता सामारीलाई पक्राउ गरेको थियो। घटनामा संलग्नता देखिएका ज्ञानेन्द्र शर्मा, सुमित वली र कोमलबहादुर भण्डारी भने फरार रहेका छन्।
उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको छ। यसरी डिजिटल वालेटबाट झिकेको रकममध्ये सुस्मिता सामारीको ग्लोबल आइएमई बैंकमा रहेको खातामा ३६ लाख ४८ हजार ८२० रुपैयाँ, कोमलबहादुर भण्डारीको सिटिजन्स बैंकको खातामा ९९ हजार ९९० रुपैयाँ जम्मा गरेको देखिएको छ।
फरार रहेका ज्ञानेन्द्रले सबै योजना बनाएको पक्राउ परेका नवीन श्रेष्ठले बयान दिएका छन्। गत मंसिरमा नवीनले ज्ञानेन्द्रलाई भेटेको र जागिर दिने भन्दै ठगी धन्दामा लगाएको देखिएको हो।
डिजिटल सोलुसन नेपाल कम्पनीमा जागिर दिने भन्दै ह्वाट्स्एप र फेसबुकमार्फत मानिससँग सम्पर्क गरेर ठगी गर्ने गरेको खुलेको छ।
नवीनका अनुसार ज्ञानेन्द्रले नै माइ पे डिजिटल वालेटमा अनधिकृतरुपमा पहुँच पुर्याएर रकम विभिन्न खातामा हाल्ने गरेको खुलेको हो।