निक्षेपको तुलनामा कर्जा सुस्ताउँदा बैंकहरुलाई लागतको भारी, कुनको व्यवसाय कस्तो ?



आकाश बोगटी
२०८१ साउन २५ गते १६:५७ | Aug 9, 2024
निक्षेपको तुलनामा कर्जा सुस्ताउँदा बैंकहरुलाई लागतको भारी, कुनको व्यवसाय कस्तो ?

काठमाडौं। आर्थिक वर्ष २०८०/०८१ मा ६ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप थपिंदा वाणिज्य बैंकहरुले २ खर्ब ४६ अर्ब रुपैयाँ लगानी विस्तार गरे। निक्षेपको वृद्धि अनुसार लगानी विस्तार गर्न नसक्दा त्यसले बैंकहरुको लागत बढायो। बढेको लागतको प्रत्यक्ष/अप्रत्यक्ष असर ऋणीलाई समेत पर्छ।

Tata
GBIME
Zonsen

सामान्यतया व्यवसाय विस्तार गर्न नसकेका बेला बैंकहरुले लागत घटाउने रणनीति अवलम्बन गर्छन्। तर, गत वर्ष ठिक उल्टो भयो। व्यवसाय विस्तार नभए पनि अधिकांश बैंक निक्षेप संकलनमा एग्रेसिभ देखिए। जसले गर्दा उनीहरुको लागत बढ्न पुग्यो।

राष्ट्रिय वाणिज्य बैंकले गत वर्ष कर्जा २१ अर्ब ६० करोड रुपैयाँभन्दा विस्तार गर्न सकेन। तर, निक्षेप १ खर्ब ७ अर्ब रुपैयाँ थपियो। अत्यधिक बढेको निक्षेपले बैंकको लागत बढ्न पुग्यो। जसका कारण ऋणीले तिर्नुपर्ने ब्याजदर घट्न सकेन।

गत वर्ष नबिल बैंकले सबैभन्दा धेरै ४२ अर्ब ८५ करोड रुपैयाँ कर्जा विस्तार गर्‍यो। तर, उसले त्योभन्दा धेरै निक्षेप उठायो। नबिलले ६५ अर्ब २४ करोड रुपैयाँ निक्षेप बढाएको हो। निक्षेप धेरै बढाउनेमा नबिल राष्ट्रिय वाणिज्य बैंकपछि दोस्रो स्थानमा रह्यो।

१४ अर्ब ९९ करोड कर्जा लगानी थपेको ग्लोबल आइएमई बैंकले निक्षेप भने ६१ अर्ब १३ करोड बढायो। यस्तै ४ अर्ब ६५ करोड रुपैयाँभन्दा लगानी बिस्तार गर्न नसकेको एनआइएमबी बैंकले ४९ अर्ब निक्षेप थप्यो।

बैंक२०८०/०८१ (निक्षेप रु कराेडमा)२०७९/०८० (निक्षेप रु कराेडमा)फरक (रु कराेडमा)
राष्ट्रिय वाणिज्य ४२९१८.८७३२१६५.४९१०७५३.३८
कृषि विकास२४३५८.८९१९९४८.६६४४१०.२३
एभरेस्ट२३२३१.६६१९८००.७८३४३०.८८
ग्लाेबल आइएमई४८७४६.२५४२६३२.५४६११३.७१
हिमालयन२९३८९.९५२७५३१.०९१८५८.८६
कुमारी३३३११.१३३१६०४.७१७०६.४३
लक्ष्मी सनराइज३२८९३.१५२९६२४.३४३२६८.८१
माछापुच्छ्रे१५७९४.१८१५४१७.९६३७६.२२
नबिल४६२०८.५९३९६८४.३४६५२४.२५
नेपाल२८३०८.३७२४४५१.३९३८५६.९८
एनआईसी एशिया३५४५१.१८३११३६.७९४३१४.३९
एनआइएमबी४०३४१.६९३५४४१.४४४९००.२५
एनएमबि२२३९४.२५२१०३०.४६१३६३.७९
प्राइम कमर्सियल२११२४.४५१७४०५.८३७१८.६५
प्रभु३०५०१.२८२८९०९.०९१५९२.१९
सानिमा१९७१९.०७१७५७४.५२२१४४.५५
नेपाल एसबिआई१७५५१.४८१५०८२.८३२४६८.६५
सिद्धार्थ२४१३२.९२२३६५.४६१७६७.४४
सिटिजन्स१८९२१.६७१६८८४.२१२०३७.४६
स्टान्डर्ड चार्टर्ड११२४८.३८११७५०.०९-५०१.७१
जम्मा५६६५४७.३९५००४४१.९८६६१०५.४१
स्रोत : नेपाल राष्ट्र बैंक

१० अर्ब ३२ करोड लगानी विस्तार गरेको एनआईसी एशिया बैंकले ४३ अर्ब १४ करोड निक्षेप संकलन गर्‍यो। १८ अर्ब ४८ करोड रुपैयाँ लगानी थपेको नेपाल बैंकले ३८ अर्ब ५६ करोड र २८ अर्ब ४४ करोड लगानी विस्तार गरेको प्राइम कमर्सियल बैंकले ३७ अर्ब १८ करोड रुपैयाँ निक्षेप बढाए।

गत वर्ष कर्जा विस्तार ८ अर्ब ९६ करोडले खुम्चिएको प्रभु बैंकले निक्षेप १५ अर्ब ९२ करोड रुपैयाँ बढायो।

२ अर्ब ४९ करोड लगानी विस्तार गरेको लक्ष्मी सनराइज बैंकले ३२ अर्ब ६८ करोड र २ अर्ब २६ करोड रुपैयाँ कर्जा बढाएको कुमारी बैंकले १७ अर्ब ६ करोड निक्षेप बढाए। माछापुच्छ्रे बैंकले ९६ करोड रुपैयाँभन्दा कर्जा विस्तार गर्न सकेन। उसले ३ अर्ब ७६ करोड निक्षेप संकलन गरेको थियो।

यी तथ्यांकले व्यवसाय विस्तार सुस्त रहेका बेला बैंकहरु निक्षेप बढाउनमा केन्द्रित रहेकाे देखाउँछ। लगानीयोग्य रकम हुँदा समेत कर्जा लगानी गर्न नसकेका बैंकहरु पुँजीकोष दबाबका कारण निक्षेप संकलनमा एग्रेसिभ देखिएका हुन्।

प्रभु बैंकका डेपुटी सीइओ मणिराम पोखरेल पुँजीकोष दबाबका कारण रिकभरीलाई फोकस गर्दा व्यवसाय केही खुम्चिएको बताउँछन्। उनका अनुसार व्यवसाय रोकेर पुरानो असुलीमा लाग्दा व्यवसाय केही खुम्चिएको हो।

‘गत वर्ष बैंकलाई पुँजीकोषको दबाब थियो। त्यसका लागि जसरी पनि असुलीमा केन्द्रित हुनुपर्ने थियो,’ उनले भने, ‘व्यवसाय बढाउनेभन्दा पनि असुलीमा फोकस हुनुपरेकाले निक्षेप थुप्रिएको देखिएको हो।’

गत वर्ष ३ अर्ब ३१ करोडले व्यवसाय विस्तार गरेको स्टान्डर्ड चार्टर्ड बैंकले भने निक्षेप घटायो। उसले ५ अर्ब १ करोड रुपैयाँ निक्षेप घटाएर लागत कम गर्‍यो। निक्षेप घटाउने बैंक स्टान्डर्ड चार्टर्ड मात्र हो।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनालले पर्याप्त लगानीयाेग्य रकम रहेकाले बैंकले व्यवसाय विस्तारकाे रणनीति तयार पारेकाे बताए।

‘गत वर्ष १ खर्ब ७ अर्ब निक्षेप थपिंदा २१ अर्ब ६० करोड मात्र कर्जा लगानी भयो,’ उनले भने, ‘हामीसँग लगानीयोग्य रकम पर्याप्त छ। त्यसैले व्यवसाय विस्तारकाे याेजना बनाइसकेका छौं। बाेर्डबाट पास भएपछि विस्तारमा लाग्छाैं।’

बैंक२०८०/८१ कर्जा रु कराेडमा२०७९/८० (कर्जा रु कराेडमा)फरक (रु कराेडमा)
राष्ट्रिय वाणिज्य२४८९१.१५२२७३०.८९२१६०.२६
कृषि विकास२०१७६.५८१७६३०.३५२५४६.२३
एभरेस्ट१७९६४.७६१५९४७.९२२०१६.८४
ग्लाेबल आइएमई३६९४५.८३५४४६.६७१४९९.१३
हिमालयन२३२७१.८८२२७४०.२१५३१.६७
कुमारी२७३२०.०६२७०९३.७३२२६.३३
लक्ष्मी सनराइज२५०३६.५३२४७८७.०१२४९.५२
माछापुच्छ्रे१२७१०.६७१२६१३.७६९६.९१
नबिल३७३९७.७५३३११२.३१४२८५.४४
नेपाल१९७०३.९९१७८५५.६५१८४८.३४
एनआईसी एशिया२७२०९.९३२६१७७.२१०३२.७३
एनआइएमबी३०७५२.५६३०२८७.४१४६५.१५
एनएमबि१९४३३१८९०३.५४५२९.४६
प्राइम कमर्सियल१८१५१.४११५३०६.७८२८४४.६३
प्रभु२२५१९.०१२३४१५.४८-८९६.४७
सानिमा१५९४९.१३१४५४२.४९१४०६.६४
नेपाल एसबिआई१२५९९.१११६३०.२२९६८.८८
सिद्धार्थ१९५३२.११८४००.९५११३१.१५
सिटिजन्स१५३३२.९११३९८३.२१३४९.७१
स्टान्डर्ड चार्टर्ड८११४.२३७७८३.१३३३१.१
जम्मा४३५०१२.५५४१०३८८.९२४६२३.६५
स्रोत : नेपाल राष्ट्र बैंक