काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन महसुलको टीओडी मिटरको तथ्यांक डाउनलोड गरेको सूचनाले उद्योगीबीच तरंग उत्पन्न भएको छ।
डेडिकेटेड र ट्रंक लाइन महसुलमा टीओडी मिटर बिना बक्यौता नतिर्ने अडानमा ६१ वटा उद्योगी रहेका छन्। सार्वजनिक लेखा समितिले पाँच दिनभित्र टीओडी मिटर मागेपछि उद्योगी शान्त थिए। तर, जब प्राधिकरणले टीओडी मिटरको तथ्यांक डाउनलोड गरेको सूचना उद्योगीले पाए त्यसपछि उनीहरुले सोधखोज सुरु गरेका थिए।
‘टीओडीको डेटा सबैको छ? लगसीट हो की टीओडी नै हो?,’ केही उद्योगीले प्राधिकरणका कर्मचारीलाई सोधेका थिए।
प्राधिकरणले ६१ वटा उद्योगलाई बक्यौतावापतको रकम पठाए पनि टीओडीको तथ्यांक दिएको थिएन। उद्योगीले डेडिकेटेड र ट्रंकलाइन भन्दै बिल पठाए पनि टीओडी मिटर नदिएको र २४ सै घण्टा बिजुली नदिएको दाबी गरेका छन्।
प्राधिकरणले टीओडी मिटर, लगसीट, एमपावर लेजर, तीनै तहको अदालतको फैसलासहितको ५० हजार पानाको डकुमेन्ट केही बेरमा सार्वजनिक लेखा समितिमा बुझाउँदैछ।